कांग्रेस उपसभापति धनराज गुरुङकी पूर्वपत्नि ज्योति विरुद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी
काठमाडौँ– नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङकी पूर्वपत्नि ज्योति गुरूङ र व्यवसायी ज्योतिबहादुर भण्डारीविरूद्ध इन्टरपोलबाट रेड कर्नर नोटिस जारी भएको छ।
ललितपुरको महालक्ष्मीस्थानस्थित मितेरी सेभिङ एन्ड क्रेडिड कोओपरेटिभको १४ करोड ८१ लाख रुपैयाँ रकम हिनामिना गरेको आरोपमा व्यवस्थापक गुरूङ र भण्डारीविरूद्ध नेपाल प्रहरीको आग्रहमा रेड कर्नर नोटिस जारी भएको हो।
रेड कर्नर नोटिस जारी भएकी गुरूङ नेपाली कांग्रेसका उपसभापति धनराजकी पूर्वपत्नी हुन्। धनराजले आफूहरूबीच ०६५ सालमै सम्बन्धविच्छेद भइसकेको बताउँदै आएका छन्। तर, जानकारहरुले भने धनराज र ज्योतिले सहकारी ठगी प्रकरणमा उम्किनका लागि कागजी रुपमा मात्रै सम्वन्ध विच्छेद गरेको दावी गर्ने गरेका छन्।
धनराजले ०८१ सालसम्म पनि पूर्वपत्नीले लिएको ऋण तिर्दै आएको रसिदहरु भेटिएकाले पनि उनीमाथि लाग्दै आएको आरोप पुष्टि हुने गरेको छ। यो सहकारीका अध्यक्ष कुम्मराज गुरूङ हुन्। उनले संसदीय विशेष छानबिन समितिमा पनि बयान दिएका थिए। बयानका क्रममा उनले ज्योति व्यवस्थापक रहेको र उनले सहकारीको बचत रकम नै लगेको बताएका थिए।
ज्योतिले सहकारीमा हिनामिना गरेको रकम विट क्वाईनमा लगानी गरेको जनाईएको छ।