२ पटक जेल तोडेर भागेका कुख्यात अपराधीलाई पक्राउ गर्न प्रहरीले छठको घाटमै गोली चलायो
इटहरी — सिन्धुपाल्चोक कारागारबाट सुरुङ खनेर फरार भएका कर्तव्य ज्यान तथा हातहतियार खरखजाना मुद्दामा एक कैदीलाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको छ।
०७२ सालको भुकम्पको फाईदा उठाएकार भागेका सुनसरीको इनरुवा नगरपालिका–१०, वलाहाका चन्द्रशेखर भनिने विनायककुमार यादवलाई प्रहरीले विहिबार साँझ पक्राउ गरेको हो। दुई पटकसम्म जेलबाट भागेका यादव पछिल्लो पटक भने प्रहरीलाई छक्याएर भारत पुगेका थिए।
पहिलो पटक सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारबाट सुरुङ खनेर भागेका यादव दोस्रो पटक पनि सिन्धुपाल्चोक कारागारबाट सुरुङ खनेरै भागेका हुन। त्यसयता भने उनी प्रहरीको कब्जामा आएका थिएनन्। चाडपर्वका बेला गाउँ आउजाउ गर्ने गरेको सूचनाका आधारमा निगरानी गरिरहेको प्रहरीले छठ पर्वमा घर आएका बेला यादवलाई कोशी गाउँपालिका–८, पत्थरचट्टाको सँझिया घाटबाटै पक्राउ गरेको हो।
सुनसरी प्रहरीका डीएसपी रामप्रसाद तिमल्सिनाका अनुसार छठमा रमाइरहेका यादव प्रहरीलाई देखेपछि भाग्न खोजेका थिए। त्यसक्रममा प्रहरीले उनलाई नियन्त्रणमा लिन गोली चलाएको थियो। प्रहरीले गोली चलाएपनि यादवलाई भने लागेन। तर, आत्तिएका उनी आफै लडे। त्यही मौका पारेर प्रहरीले उनलाई पक्राउ गरेर बाँकी सजाय भुक्तानका लागि शुक्रबारनै कारागार चलान गरेको छ।
डीएसपी तिमिल्सिनाका अनुसार यादव र उनका साथी श्याम भनिने श्यामकुमार यादवले मिलेर १६ बैशाख ०६५ मा सुनसरीको साविक प्रकाशपुर– ६ का ३९ वर्षीय केशव कार्कीको गोली हानी हत्या गरेका थिए। त्यसबेला प्रहरीले उनीहरूलाई एउटा पेस्तोल र ११ राउण्ड गोलीसहित पक्राउ गरेको थियो।
जिल्ला अदालत सुनसरीले हत्या आरोपमा दोषी ठहर गर्दै २० वर्ष ८ महिना १४ दिन कैद सजायको फैसला सुनाएपछि उनी झुम्का कारागार चलान भएका थिए। २३ कात्तिक ०६९ को राती यादव, बंगलादेशी नागरिक सुव्रत बेन र भारतीय अपराधी धिरेन्द्र यादवसहित १२ जना कैदी सुरुङ खनेर फरार भए।
लगत्तै उनलाई प्रहरीले सप्तरीको गोबरगाडाबाट पक्राउ गरी सिन्धुपाल्चोक कारागार चलान गरेको थियो। प्रहरीका अनुसार झुम्का कारागारबाट सुरूङ खनेर भागेका १२ जनामध्ये हालसम्म नेपाल र भारतमा गरी ७ जना मात्रै पक्राउ परेका छन्।
यता, १२ वैशाख ०७२ को भूकम्पका बेला उनी फेरी पनि सुरुङ खनेर कारागारबाट भागेका थिए।