हात भाँचिएकी बालिकाको उपचारका क्रममा मृत्यु भएपछि ३ जना डाक्टर पक्राउ
काठमाडौँ– हात भाँचिएको उपचार गर्न पुगेकी एक बालिकाको डोटीको राजपुरस्थित सुजङ अस्पतालमा मृत्यु भएपछि प्रहरीले ३ जना चिकित्सकलाई पक्राउ गरेको छ।
दिपायल सिलगढी नगरपालिका–३, दिपायलकी रजनी भुल (९) को उपचारको क्रममा मृत्यु भएको हो। बायाँ हात भाँच्चिएर घाइते भएकी बालिकालाई बुधबार राति करिब ८ बजे शल्यक्रिया गर्नका लागि सुइमार्फत एनेस्थेसिया दिइएको थियो।
त्यसपछि होसमा नआइ बालिको मृत्यु भएको थियो। बेहोस पार्ने क्रममा दिइएको औषधिको असरले उनको मृत्यु भएको आशंका गरिएको छ।
बालिकाको मृत्यु भएपछि स्थानीय र मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका थिए। चिकित्सकले लापरबाही गरेर उपचार गरेको भन्दै आक्रोशित आफन्तले अस्पतालमा आक्रमण थालेपछि प्रहरीले अनुसन्धानका लागि उपचारमा सम्लग्न चिकित्सकलाई पक्राउ गरेको हो।
जिल्ला प्रहरी कार्यालय, डोटीका एसपी विनोद शर्माका अनुसार चिकित्सकहरु डा. राजमणि यादव, डा. सुरेन्द्रकुमार चौधरी र डा. अभिषेक यादवलाई पक्राउ गरिएको छ। प्रहरीले मादक पदार्थ सेवन गरेर उपचार गरेको आशंकामा तीनै जना चिकित्सकको परिक्षण गराएको थियो। तर, अल्कोहल नदेखिएको एसपी शर्माले वताए।
आफन्तले बालिकाको शब उठाउन मानेका छैनन्। मृत्तकका बुबा रोजगारको सिलसिलामा भारत बस्दै आएका छन्।