जापानमा वसेर दशरथ रंगशालामा प्रधानमन्त्री ओलीको हत्या गर्न उक्साउने कार्की प्रहरीको निगरानीमा

काठमाडौँ– १४ जेठमा दशरथ रंगशालामा साफ वुमन्स च्याम्पियनसिपको सातौं संस्करणको फाइनल खेल सुरु हुँदै थियो। नेपाल–बंगलादेशबीचको खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली रंगशालामा पुगेका थिए।

प्रधानमन्त्री ओली प्रतियोगिता हेर्न पुगेपछि रंगशालामा उनीविरुद्ध असभ्य नाराबाजी भयो। करिव १ सयको हाराहारीमा रहेका ब्यक्तिहरुले ओलीविरुद्ध ‘केपी ओली मुर्दावाद, बालेन साह जिन्दावाद’ भन्दै नारावाजी गरे। त्यसैबेला सामाजिक सञ्जाल फेसवुकमा रतन कार्की नामका युवक लाईभ आए। टेलिभिजनमा प्रतियोगिता हेर्दै सामाजिक सञ्जालमा लाईभ आएका उनले रंगशाला भित्रै प्रधानमन्त्री ओलीको हत्या गर्न दर्शकलाई उक्साए।

‘आज गरौं यत्तिचाहिँ गरिहालौं के! आज गरिएन भने हामी धेरै पछुताइन्छ। आँटौं साथीहरु आज। तपाईंहरुले गेम हेरिरहनुभएको होला, तर मैले अरु नै केही हेरिरहेको छु। आज हामीले चाहेम भने मार्न सकिन्छ। यत्रो मान्छे छन् एउटा ग्रुप बनाएर घेर्ने हो भने फ्याट्टै मार्न सकिन्छ। मारेपछि मारेको मार्यै हुन्छ। आँटम त आज। आज आँटी हालौं, धेरै टाइम पनि छैन, बूढो गइहाल्छ। मतलब उता जान पनि टाइम छैन, उता जान पनि छैन। बुझ्नु न यत्ति चाँही गरौं के। आज गरिएन भने पछुताइन्छ साथीहरु।’ फेसबुक लाईभमा उनले बोलेका हुरा हुन यी।

उनको बारेमा प्रहरीले खोजतलास सुरु गर्यो। पत्ता लगाउँदै जाँदा उनी जापानमा वस्ने गरेको खुलेको छ। प्रहरी र जापानस्थित नेपाली दूतावासले प्राप्त गरेको प्रारम्भिक विवरणअनुसार कार्की असाध्यै अराजक र असभ्य मानिस हुन्। कार्कीलाई नेपाल प्रहरी र जापानस्थित नेपाली दूतावासले निगरानीमा राखेका छन्।

कार्कीसहित ओलीविरुद्ध असभ्य नारावाजी गर्ने करिव १ सयको हाराहारीमा रहेका ब्यक्तिहरु अहिले प्रहरीको निगरानीमा छन्। ‘वालेन साह जिन्दावाद’ भन्दै प्रधानमन्त्री विरुद्ध नारावाजी गर्नेहरु अधिकांश राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता भएको प्रहरीले जनाएको छ।

नेपाल प्रहरी मुख्यालयका एक उच्च अधिकारीका अनुसार बुधबार प्रधानमन्त्री विरुद्ध नारावाजी गर्नेहरु रास्वपाद्वारा संगठित रूपमा खटाइएका व्यक्तिहरु हुन। उनीहरु सबैको पहिचान भएको प्रहरीले जनाएको छ। उनीहरू योजनाबद्ध रूपमै त्यहाँ नारा लगाउन गएको र त्यस्ता व्यक्तिहरूको संख्या एक सयको हाराहारीमा रहेको प्रहरीले जनाएको छ।

प्रहरीले नाराबाजी गर्नेहरुको सहजै पहिचान गरेको छ। रास्वपाका कार्यकर्ताले आन्तरिक म्यासेज ग्रुपहरूमा फुटबलको टिकट अग्रिम बुकिङ गरेर नाराबाजीका लागि तयार रहन सर्कुलर गरेको प्रहरीलाई जानकारी थियो।

रंगशालामा प्रधानमन्त्री जाने समाचार आएदेखि नै सामाजिक सञ्जालबाट नाराबाजी र हुटिङको अभियान चलाइएको थियो। यो जानकारीपछि प्रहरीले त्यस्ता व्यक्तिको एकाउन्टसहित पहिचान गरेको थियो। विगतमा जस्तै ‘बालेन साह जिन्दाबाद, केपी ओली मुर्दावाद’को नारा लगाउँदा नाराबाजीको दोष बालेन्द्र समर्थकमाथि जाने योजना अनुरूप असभ्य नाराबाजी गरिएको प्रहरीको भनाई छ।

यसवाहेक बुधबार विहानै पनि प्रधानमन्त्री विरुद्ध असभ्य नाराजुलुस हुनसक्ने सूचना प्रहरीले पायो। त्यसैले सादा पोशाकमा दशरथ रंगशालाको प्याराफिटका हरेक सिटसँगै सुरक्षाकर्मी परिचालन गरिएको थियो। ‘नाराबाजी गर्नेहरूलाई निगरानीमा राखेर उनीहरूको फोटो भिडिओ लिने तर धरपकड नगर्ने। अभद्र व्यवहार र हुलदंगा गरे मात्र नियन्त्रणमा लिने’ आदेश उनीहरुलाई थियो।

आदेश बमोजिम उनीहरूलाई स्क्रिनिङमात्र गरिएको प्रहरी अधिकारीले बताएका छन्। ‘विशेष गरी रास्वपाले स्वतन्त्र युवा र स्वतन्त्र खेलप्रेमीका नाममा प्रधानमन्त्रीविरुद्ध नाराबाजी गर्ने र बालेन साह जिन्दाबाद भन्ने तयारी गरेको जानकारी हामीलाई पहिले नै थियो’ एक प्रहरी अधिकारीले भने–‘त्यसै अनुसार तयारी गरिएको थियो।’ नारावाजी गर्नेमा केही माओवादी कार्यकर्ता पनि संलग्न रहेको पाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट