कता फर्किएर र कति बेला लगाउँने साईतको भाईटीका ?
काठमाडौँ– प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन अर्थात यमपञ्चकको अन्तिम दिन आज भाइटीका मनाईदैछ।
दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर यो पर्व मनाइँछ। दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्छन्। आजको दिनलाई यमद्वितिया पनि भनिन्छ।
दिदीबहिनीले दाजुभाइलाई टीका लगाएपछि दाजुभाइले पनि दिदीबहिनीलाई टीका लगाई दिने र गच्छेअनुसार दक्षिणा दिने चलन छ। दिदीबहिनीलाई पूजा गर्नाले अखण्ड सौभाग्य र ऐश्वर्य प्राप्त हुने शास्त्रीय मान्यता छ।
भाइटीकाको टीका आज दिनभर लगाउन कुनै बाधा नभए पनि साइत खोज्नेका लागि बिहान ११ः३७ बजेको अभिजित् मुहूर्त उत्तम रहेको रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए।
राज्य सञ्चालकले भने साइतमै टीका लगाउनुपर्ने समितिले जनाएको छ। आज लक्ष्मी पूजाका दिन स्थापना गरिएको दियो, कलश र गणेशको पूजा गरी मूल थालीमा लेखिएको अष्टदलमा मार्कण्डेय, अश्वत्थामा, बलि, व्यास, हनुमान, विभीषण, कृपाचार्य र परशुराम गरी अष्ट चिरञ्जीवी, चित्रगुप्त, यमराज, यमुना र धर्मराज, गणपत्यादि वनस्पत्यन्त देवता, नवग्रहको समेत पूजाआराधना गरी दिदीबहिनीले दाजुभाइलाई तेलको धाराले छेकेर परम्पराअनुसार सप्तरंगी वा पञ्चरंगी टीका, मखमली, सयपत्री वा गोदावरीलगायत फूलका माला लगाइदिने गरिन्छ।
तिहारमा सप्तरङ्गी टीका लगाउने भनी प्रचारप्रसार गरिए पनि शास्त्रीय मान्यता भने तिहारमा लगाउने टीकाको रङ्ग रातो, सेतो, पहेँलो, हरियो र नीलो गरी पाँचवटा उल्लेख गरिएको छ। टीका लगाइदिएपछि दिदीबहिनीले दाजुभाइलाई ओखर, कटुस, मरमसला एवं सेलरोटीलगायत खानेकुरा दिने धार्मिक एवं सामाजिक परम्परा छ।
यो वर्षको भाइटीकामा टीका लगाइमाग्ने दाजुभाइ पश्चिम र लगाइदिने दिदीबहिनी पूर्व फर्किनुपर्ने नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष अधिकारीले बताए। यसो गरेमा वृश्चिक राशिमा रहेका उत्तरका चन्द्रमा दाहिने पर्नेछन्। शुभ कर्ममा चन्द्रमालाई अघि वा दाहिने पार्नुपर्ने शास्त्रीय नियम छ।
सनातन धर्ममा शुभकार्य गर्दा चन्द्रमाको दिशा हेर्ने परम्परा छ। आइतबार चन्द्रमा वृश्चिक राशिमा छ। शुभकार्य गर्दा चन्द्रमालाई अगाडि वा दाहिने पार्नुपर्छ। चन्द्रमालाई अगाडि पार्ने क्रममा दाजुभाइ उत्तर फर्किँदा दिदीबहिनी दक्षिण फर्किएर टीका लगाउन नहुने भएकाले पूर्व–पश्चिम नै निर्देश गरेको अधिकारीले बताए।
त्यसो त चन्द्रमा अगाडि पार्न दाजुभाइले उत्तर फर्किएर पनि टीका लगाउन सकिन्छ। तर यसो गर्दा दिदीबहिनी पूर्व फर्किनुपर्छ। दक्षिण भने फर्किनु हुँदैन। दक्षिण दिशा पितृकर्मका लागि मात्र उपयुक्त मानिन्छ। शुभकार्यमा पूर्व वा उत्तर फर्किनुपर्ने मान्यता पनि छ।