गौरव नेतृत्वको नेकपा (माओवादी) द्वारा जनसत्ता घोषणा, जनकारवाही थाल्ने चेतावनी
राजविराज– गौरव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (माओवादी) ले जनसत्ताको घोषणा गरेको छ। पार्टीको दोस्रो विस्तारित बैठकले जनसत्ताको घोषणा गरेको हो।
पार्टीले देशव्यापी जनकारवाहीको कार्यक्रम समेत घोषणा गरेको छ। मेडिकल माफिया, शैक्षिक माफिया, म्यानपावर माफिया, भूमाफिया, मजदुर माफिया, मिटरब्याज दलाल, भ्रष्टाचारी, राष्ट्रघाती, सुन तस्कर र राज्यलाई राजस्व नबुझाउनेहरु विरुद्ध जनकारबाही गर्ने वैठकपछि जारी प्रेस विज्ञप्तिमा उल्लेख छ।
जनसत्ता प्रमुखको जिम्मेवारीसमेत तोकेको बैठकले देशव्यापी जनकारबाही अघि बढाउने निर्णय गरेको छ। जनसत्ता प्रमुखमा र पूर्वी कमाण्ड इञ्चार्जमा शेखर सिंह, मध्य कमाण्ड इञ्चार्जमा अग्नी, मध्यपश्चिम कमाण्ड इञ्चार्जमा जावेल, पश्चिम कमाण्ड इञ्चार्जमा दिपक, सुदूरपश्चिम कमाण्ड इञ्चार्जमा दान सिंहलाई जिम्मेवारी तोकेको छ।
वैठकले जनवर्गीय मोर्चाहरुको पनि जिम्मेवारी तोकेको छ। जनस्वाथ्य महांसघको संयोजक रमाकान्त, अखिल नेपाल ट्रेड युनियन महासंघको संयोजक बाबुराम, नेपाल मुस्लिम मुक्ति मोर्चाको संयोजक कलिमुद्धीन, प्रवास विभाग इञ्चार्जमा समर्पण, अनेमसंघ संयोजकमा सरस्वती चौधरी र नेपाल आदिवासी जनजाती महांसघ संयोजक रमालाई तोकिएको छ।
जनमुक्ति सेना तथा जनसत्ता स्थापना दिवसको अवसरमा आगामी मंसिर ८ गते विशेष कार्यक्रम आयोजना गर्ने भएको छ।