सुस्तामा हतियारसहित छिरेका एक गाडी भारतीय सुरक्षाकर्मीलाई नेपाली नागरिकले लखेटे

नवलपरासी — पश्चिम नवलपरासीको सुस्तामा शुक्रबार गैरकानुनी रुपमा हतियारसहित प्रवेश गरेका एक गाडी भारतीय सुरक्षाकर्मीलाई नेपाली नागरिकले लखेटेका छन्। भारतीय सशस्त्र बन रक्षकको टोलीलाई स्थानीयले लखेटेका हुन।

सुस्ताका दुई जना नेपालीलाई समात्न उनीहरु बिआर २२ बिजे ४४१६ नम्बरको जिप चढेर दिउँसो करिव साढे ३ बजे नेपाल छिरेका थिए। आएका थिए। तर, स्थानीयले उनीहरुलाई घेरा हालेर नेपाल प्रहरी र सशस्त्र प्रहरी बल (एपीएफ)लाई खबर गरेका थिए। केही समयपछि नै पुगेको सशस्त्र प्रहरीको टोलीले उनीहरुलाई नियन्त्रणमा लिएको थियो।

त्यसपछि भारतीय सुरक्षाकर्मीले आफूहरु सशस्त्र वन रक्षक भएको र गस्ती गर्ने क्रममा बाटो भुलेर नेपाल छिरेको वताएका थिए। त्यसपछि सशस्त्रले सामान्य केरकार गरेर उनीहरुलाई भारततिरै पठाइदिएको छ। स्रोतका अनुसार नेपाली नागरिक दुखी यादव र हिरामन तुरहालाई पक्राउ गर्न उनीहरु आएका हुन।

प्रहरी चौकी सुस्ताका प्रहरी सहायक निरीक्षक (असई) राजराज चौधरीले चालकसहित ५ जना भारतीय सुरक्षाकर्मी आएको वताए। पश्चिम नवलपरासीका प्रमुख जिल्ला अधिकारी स्कीम श्रेष्ठले स्पष्ट सीमा नहुँदा वाटो भुलेर बिहारका प्रहरी र त्यहाँको डिएफओ सुस्ता सिमानाबाट ७ सय मिटरभित्र छिरेको बताइन्।

त्रिवेणी पारी नारायणी नदीको पूर्वतर्फ सुस्ता पर्छ। त्यहाँ नेपाल–भारतको सीमा स्तम्भ छैन। नारायणी नदी पारी भारतीय सिमानासँग जोडिएको सुस्ता र भारत सिमानामा दशगजा समेत छैन। सुस्तामा करिब ६ सय नेपाली बसोवास गर्छन्। दशगजासमेत नहुँदा भारतले वर्षेनी सुस्ता अतिक्रमण गर्दै आएको छ। ४०÷५० वर्षअघि ५६ हजार हेक्टर नेपाली भूभाग रहेको सुस्तामा भारतले सिमाना अतिक्रमण गर्दै अहिले सानो क्षेत्र मात्रै बाँकी छ।

सुस्ताको सिमा क्षेत्रमा भारतले ४ स्थानमा भारतीय अर्ध सैनिक बल एसएसवीको पोष्ट राखेको छ। नेपालतर्फ भने सीमा सुरक्षार्थ सशस्त्र र सीमा पार अपराध रोकथाम तथा नियन्त्रणका लागि भन्दै नेपाल प्रहरीको सानो युनिट तैनाथ छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट