विराटनगरस्थित माछापुच्छ्रे सहकारीको वचत अपचलन प्रकरणमा ५० जनाविरुद्ध पक्राउ पूर्जी जारी
विराटनगर– विराटनगरको माछापुच्छ्रे बचत तथा ऋण सहकारी संस्थाको करिव ९ करोेड वचत रकम अपचलन भएको विषयमा अनुशन्धान गर्न जिल्ला अदालत मोरङले ऋणीसमेत ५० जनालाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएको छ।
प्रहरीले वचतकर्ताको रकम अपचलन गरेको आरोपमा २०६८ साल यताका सहकारीका पदाधिकारी तथा सदस्य र ऋणीसमेत १ सय ९ जनालाई प्रतिवादी बनाएर १ कात्तिकमा मोरङ अदालतमा मुद्दा दायर गरेको थियो। प्रतिवादी मध्ये ८८ जना ऋणी र अध्यक्ष अमलेश कर्ण, उपाध्यक्ष सनातम मण्डल, सचिव उत्तम ढुंगेल, कोषध्यक्ष सोमी भगत, सञ्चालक प्रभाकर थापासहित २१ जना सहकारीका सञ्चालक र पूर्वसञ्चालकहरु छन्।
ती मध्ये ५० जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको जिल्ला अदालत मोरङका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले जानकारी दिए। पक्राउ पुर्जी जारी भएका मध्ये हालसम्म अध्यक्ष अमलेश कर्ण मात्रै पक्राउ परेका छन्। उनलाई जिल्ला अदालतले २ कात्तिकमा पुर्पक्षका लागि कारागार चलान गरेको छ। उनी तत्कालीन विवेकशील साझा पार्टीबाट विराटनगरको मेयरका उम्मेदवारसमेत हुन। उपाध्यक्ष मण्डल अस्पताल सञ्चालक हुन् भने सचिव ढुंगेल उपभोक्ता अधिकारकर्मी र सञ्चालक थापा नेपाल तरुण दल मोरङका पूर्वसभापति हुन्।
अन्य फरार प्रतिवादी पक्राउ गर्न पक्राउ पुर्जी जारी भइरहेको अदालतका सूचना अधिकारी वुढाथोकीले बताए। सहकारीले बचत फिर्ता नगरेपछि १ सय ३ जना बचतकर्ताले करिव साढे २ करोड रुपैयाँ फिर्ता माग्दै प्रहरीमा उजुरी दिएका थिए। यो प्रकरणपछि सहकारीको रकम अपचलन भएको विषय सतहमा आएको थियो।
त्यसपछि प्रदेश सरकारी रजिष्ट्रार तथा प्रशिक्षण कार्यालयले छानबिन गरेको थियो। छानविनका क्रममा सहकारीको ९ करोड २५ लाख रुपैयाँ हिनामिना गरेको देखिएको थियो। प्रहरीको अनुसन्धानका क्रममा पनि ७ करोड ८४ लाख २६ हजार ३ सय ३५ रुपैयाँ हिनामिना भएको देखिएको छ।
सहकारीबाट १ सय ८३ जनाले ६ करोड ३४ लाख ७६ हजार २ सय २६ रुपैयाँ ऋण लिएको देखिएको छ। तर धितो लगानी भएको केही ऋणको फाइलमा ऋणीको हस्ताक्षर समेत नभएको प्रहरीले बताएको छ।
अध्यक्ष कर्णले संस्थाका पदाधिकारी तथा सदस्यहरुले नै ऋण लिएर रकम अपचलन गरेको बताएका छन्। प्रभाकर थापा, अमित कार्की, उत्तम ढुंगेल, श्याम कोइराला, सरु भण्डारी, गोपाल ढकाल, दिलिपकुमार साह, राधादेवी लिम्बु, गोकुल थापा (पूर्वउपाध्यक्ष), ईन्द्रेश कर्ण (पूर्वसञ्चालक) ले नियम विपरित ऋण लिएको उनको बयानमा उल्लेख छ।
व्यवस्थापक समेत रहेका अमित कार्कीले संस्थाको रकम आफ्नो व्यक्तिगत खातामा सारेर अपचलन गरेको खुलेको छ। सहकारीको कारोबारसमेत उनले आफ्नो व्यक्तिगत बैंक खाताबाट गरेका थिए। २०६८/६९ सालदेखि नै घाटामा रहेको सहकारीलाई लेखा परीक्षकसँग मिलेर निरन्तर नाफामा देखाइएको आरोप छ। सहकारी घाटामा देखाउँदा बचतकर्ताले वचत फिर्ता माग्ने भएका कारण निरन्तर नाफा देखाइएको अध्यक्ष कर्णले बयान दिएका छन्।