तनावपूर्ण खेलमा भारतलाई ४–२ गोलअन्तरले हराउँदै नेपाल पुग्यो फाईनलमा
काठमाडौँ– भारतलाई पेनाल्टी सुटआउटमा हराउँदै नेपाल साफ वुमन्स च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ।
दशरथ रंगशालामा आईतबार राती भएको खेलमा भारतलाई हराउँदै नेपाल फाईनलमा प्रवेश गरेको हो। निर्धारित समयमा १–१ को बराबरीमा सकिएपछी खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो। भारतका दुई खेलाडीको प्रहार नेपाली गोलकिपरले रोकेकी थिईन। नेपालबाट प्रहार गरेका ४ खेलाडीले गोल गरेपछि नेपालले जित निकालेको हो।
त्यसअघि निर्धारित समयमा रेखा पौडेलले रातो कार्ड पाएपछि नेपाल १० खेलाडीमा सिमित भयो। त्यसको फाइदा उठाउदै खेलको ७१औं मिनेटमा भारतकी संगिता बासफोरेले गोल गर्दै भारतलाई अग्रता दिलाएकी थिइन्।
त्यसलगत्तै नेपालले पनि गोल फर्कायो। नेपालकी प्रीति राईले गरेको गोलमा सुरुमा रेफ्रिले गोलको मान्यता दिएपनि भारतले प्रोटेष्ट गरेपछि उक्त गोलले मान्यता पाएन। त्यसपछि खेल रोकियो। १ घन्टापछि सुरु भएको खेलमा सुरुवाती एक मिनेटमै नेपालकी सावित्रा भण्डारीले गोल गरिन। दुवैतर्फको गोल बराबरी भयो।
निर्धारित समय १–१ को बराबरीमा सकिएपछि खेलको निर्णय सिधै पेनाल्टीसुटआउटबाट भएको थियो। नेपालले साफमा भारतलाई लगातार दोस्रो पटक हराएको हो भने समग्रमा छैटौं पटक साफको फाइनलमा पुगेको हो। नेपालले अब उपाधिका लागि बुधबार बंगलादेशसँग खेल्नेछ।
किन रोकिएको थियो खेल?
पहिलो हाफ गोलरहित बराबरीमा सकियो। दोस्रो हाफको ५१औं मिनेटमा नेपालकी रेखा पौडेलले रातो कार्ड पाएर मैदान बाहिर गईन। उनको गल्ति नदेखिए पनि दोहोरो पहेँलो कार्ड पाएपछि रातो कार्ड पाएकी थिइन्। त्यसैले खेल केही बेर रोकियो।
७१औं मिनेटमा संगिता बासफोरेले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। त्यसमा भारतले ठूलै खुशीयाली मनायो। मैदानका खेलाडी बेन्चका खेलाडी र कोचिङ स्टाफहरु सबैले मैदानको साइडमा खुशी मनाइरहेका थिए।
त्यसैबेला नेपालले सेन्टरबाट बल चलायो। सावित्रा भण्डारीले चलाउँदै दिएको पासमा प्रीति राईले ७२औं मिनेटमा नेपालका लागि गोल गरिन। यतिबेलासम्म रेफ्रीले बल चलाउन दिइसकेको थियो र नेपालको गोलको मान्यता पनि पाएको थियो। भारतका केही खेलाडी बल बचाउ गर्न पनि गएका थिए। तर धेरै जसो भने खुशीमै रमाइरहेका थिए।
नेपाली खेलाडी र बेन्च भने गोलको खुशी मनाउन थालिसकेका थिए। तर स्कोर बोर्डमा नेपालको गोल देखाइएन। नेपालले गरेको गोलले मान्यता नपाएपछि नेपाली खेलाडी कोचिङ स्टाफ सबै जना प्रतिवादमा उत्रिए।
गोलले मान्यता नपाएपछि नेपाली खेलाडीले फेरि सेन्टरबाट बल चलाए। ७३ मिनेट र केही सेकेण्डको खेल चलिरहेको बेला दर्शकले बोतल हान्न थाले। रेफ्री आफैँले सुरुमा गोल मान्यता दिएर पछि मान्यता नदिएको भन्दै तनावपूर्ण अवस्था बन्यो।
१ घण्टा भन्दा बढी समय खेल रोकियो। लामो छलफलपछि खेल सुरु भयो। खेल फेरि सुरु हुँदा ६४औं मिनेट देखि सुरु भएको थियो। खेल सुरु भएलगत्तै नेपाली खेलाडी साम्बाले बराबरी गोल फर्काइन्। प्रीति राईले उपलब्ध गराएको पासमा साम्बाले सानदार गोल गरिन्।
निर्धारित समयमा १–१ गोलको बराबरीमा सकिएपछि खेल सिधै पेनाल्टीसुटआउटमा गयो। पेनाल्टीलाई मध्यनजर गर्दै नेपालले खेलको अन्त्यतिर कप्तान तथा नियमित किपर एन्जला तुम्बापो सुब्बाको स्थान अन्जना राना मगरलाई मैदान पठाएको थियो। पेनाल्टी सुटआउटमा ४–२ को गोल अन्तरले नेपालले भारतलाई हराउन सफल भयो।