प्रधानमन्त्रीको पुतला दहनले चितवनका सीडीओ र एसपीको जिम्मेवारी खोसियो, फाजिलमा रहेका पौडेललाई अवसर
काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा भएको प्रदर्शनले चितवनका सीडीओ र एसपीको जिम्मेवारी खोसिएको छ। गृहमन्त्रालयले सीडीओ इन्द्रदेव यादव र एसपी भावेश रिमालको जिम्मेवारी खोसेको हो।
लामिछाने पक्राउको विरोधमा चितवनमा रास्वपाका कार्यकर्ताले प्रदर्शन गरेका थिए। त्यस क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला बनाएर प्रदर्शन गरिएको थियो। जसको भीडीओ सामाजिक सञ्जालमा बाहिरियो।
त्यो भीडीओ बाहिरिएसँगै सुरक्षा निकायले त्यसलाई नरोकेको भन्दै गृहले दुवैको सरूवा गरेको हो। बुधबार गृहमन्त्री स्तरीय निर्णय गरी सीडीओ यादव र एसपी रिमालको सरुवा गरिएको हो। स्रोतका अनुसार चितवनमा प्रधानमन्त्रीको पुत्ला प्रदर्शन र दहन हुँदा प्रशासनले हस्तक्षेप नगरेको आरोप उनीहरुमाथि छ।
यादवको ठाउँमा गृहमन्त्रालयमा फाजिलमा रहेका सहसचिव प्रकाश पौडेल र रिमालको ठाउँमा मानव बेचबिखन अनुसन्धान ब्युरोमा रहेका गौतम मिश्रलाई पठाइएको छ। ४ महिनाअघि (२३ जेठ) चितवन गएका यादव र ८ महिनाअघि गएका रिमाल दुवै जनाले विहिबारै चितवन छोड्ने तयारी गरेका छन्।
यादवलाई गृह मन्त्रालय र रिमाललाई मानव बेचबिखन अनुसन्धान ब्युरोमा तानिएको स्रोतले जनाएको छ।