कविताः वाह वाह – बुङ्गा बा
सोझो भनिएका गुरुङ दाइ कानून मन्त्री भए
कानूनकै दण्ड देखाइ गुरुङसँगै करोड कुम्लाए
कुरा चुहिएपछि ऋण नामक लेपन लगाए।
दाउ हेरिबसेका कुमाई बा प्रधानमन्त्री भए
घुमाई फिरार सुद्धिकरण मिलाइ अरवको डिल मिलाए
जिब्रै टोकिने जिनिसलाई भु–दानको जलप लगाए।
छोरा–छोरी कति ज्ञानी, बा बुङ्गिएपनि
जमिन्दारी पाए इमान्दारिताको सुर्ता नलिनी
बालाई बश्त्र लगाइदिनुको साटो वौसाइदिनी।
हिरण्यकश्यपुको घरमा प्रल्हाद पनि जन्मिएकै थिए
लाखौं सन्तानमा एकाध लजालु हुने नै भए
दुई लजालु छोरीले टाढैबाट बा नाङ्गै भएको जनाए।
बा, हिजो जेल पर्यौ, सुराकी छल्दै जनताने सुप खुवाए
ज्यानको बाजी थापी तिमीलाई तङ्ग्य्राए
तिमी जेल छँदै सुका–मोहर जम्मा गरी विशाल पार्टी बनाए
बा, तिनै जनताले तिमीलाई जे चाहियो त्यही पुर्याए।
आफ्नै मृगौला चुडाइ पटक–पटक तिमीलाई बचाए
अफसोच, तिम्रा आश्था यतिविघ्न किन फेरिए ?
मदनकुमारको प्रतिष्ठासँग मिनवहादुरको दौलत सट्टा हुँदा
अट्टहास गर्दै वुङ्गाहरुको हुल वाँधेर बा भटभटिए
हे सत्तुर हसाउने नखरमाउली हो– मलाई नाङ्गो देख्ने कारन के हो ?