सप्तरीको वरमझियामा बस पल्टिएर दुर्घटना भएको घट्नाका मोटरसाईकल चालकको मृत्यु

राजविराज– पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिका–२, बरमझियामा आईतबार मोटरसाईकलसँग ठोक्किएर बस पल्टिएको घट्नाका मोटरसाईकल चालकको मृत्यु भएको छ।

बसको ठक्करबाट गम्भीर घाइते भएका मोटरसाइकल चालक सप्तरीको कञ्चनरुप नगरपालिका–१ का सुमित पण्डित (२५) को मंगलबार उपचारका क्रममा मृत्यु भएको हो। उनी मोरङको विराटनगरस्थित न्युरो अस्पतालमा उपचारत थिए।

उदयपुरको गाईघाटबाट काँकडभिट्टा जाँदै गरेको प्र.१–०१–००१ ख ४१२६ नम्बरको बस र विपरीत दिशामा जाँदै गरेको स.५ प.१५९३ नम्बरको मोटरसाइकल ठोक्किँदा बस अनियन्त्रित भई पल्टिएको थियो। बस पल्टिदा बसमा सवार धनकुटाको साँगुरीगढी गाउँपालिका–४ की मैया राई (५४) को घटनास्थलमै मृत्यु भएको थियो।

बसको ठक्करबाट गम्भीर घाइते पण्डितलाई स्थानीय अस्पतालमा प्राथमिक उपचार पश्चात तत्कालै विराटनगर लगिएको थियो। उनीसहित दुर्घटनामा घाइते २२ मध्ये गम्भीर घाइते ८ जनालाई प्रहरीले उपचारका लागि विराटनगर पठाएको थियो। विराटनगरमा उपचाररत अन्य घाइतेहरुको उपचार भइरहेको र उनीहरूको अवस्थामा सुधार भइरहेको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट