रास्वपाका कार्यकर्ताले ‘घुसपैठिया’ भन्दै आफनै पार्टीका पालिका संयोजकलाई भकुरे

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्ताले आइतबार पोखरामा भएको आन्दोलनका क्रममा घुसपैठ गरेको भन्दै आफ्नै पार्टीको मादी गाउँपालिका संयोजक पदमराज पौडेललाई निर्घात कुटपिट गरी घाइते बनाएका छन्।

आफ्नै पार्टी कार्यकर्तालबाट ‘घुसपैठ गरेको’ आरोपमा कुटाइ खाएका पौडेल अहिले थिलथिलो भएर घरमा सुतेका छन्। उनको ओठमा दुइटा टाँका लगाइएको छ। रवि लामिछानेसँग सरकारले प्रतिसोध साँधेको भन्दै रास्वपाले पोखरामा आयोजना गरेको आन्दोलनमा सहभागि भएकै वेला उनी कुटिएका हुन।

सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि रास्वपा सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेपछि पार्टीले पोखरा केन्द्रित प्रदर्शन गरिरहेको छ। पोखराको काहुँखोलामा इलेक्ट्रिक्स पसल सञ्चालन गरिरहेका पौडेल पनि आईतवार प्रदर्शनमा सहभागि भए।

प्रहरीले लामिछानेलाई म्याद थपका लागि अदालत लाँदै थियो। पोखराको शहिदचोकमा रास्वपा कार्यकर्ता नाराबाजी गरिरहेका थिए। त्यसैवेला हुलहुज्जत र प्रहरीसँग धकेलाधकेल भएपछि प्रहरीले पानीको फोहोरा हान्न थाल्यो। पौडेलले पनि प्रहरीलाई ताकेर मिनरल वाटरको बोतल फ्याँके।

त्यस लगत्तै प्रहरीमाथि आक्रमण गरेको भनेर ‘यो हाम्रो कार्यकर्ता होइन, घुसपैठिया हो’ भन्दै रास्वपाका कार्यकर्ताले नै उनलाई निर्घात कुट्न थाले। कुटपिटबाट उनको मुख फुट्यो। उनी सडकमै लडे। त्यसपछि केहीले उनलाई उद्धार गरे। तर, उद्धारका क्रममा समेत कतिपयले पछाडिबाट लात्ती र मुक्का हानिरहे।

भागेर ज्यान वचाएका उनी पछि अस्पताल भर्ना भए। ओठमा दुईटा टाँका र शरीका अन्य भागमा लागेको चोटमा मलमपट्टी गरेर उनी घर पुगे। अब भने उनी रवि लामिछानेलाई छुटाउन माग गर्दै भएको आन्दोलनमा नजाने निर्णयमा पुगेका छन्। पार्टी भने तत्काल नछोड्ने उनको भनाई छ।

कोरियामा ५ वर्ष बसेर फर्केका पौडेल ०८० जेठदेखि रास्वपामा आबद्ध भएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट