सहकारी ठगी प्रकरणमा रवि र छविसहित कोको माथि सुरु भयो कारबाही ?

काठमाडौँ– सरकारले सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले सिफारिस गरेका सबै व्यक्तिमाथि कारबाहीको प्रक्रिया सुरु भएको जनाएको छ।

गत १५ जेठमा गठन भएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने, जीबी राई भनिने गितेन्द्रबाबु राई, कुमार रम्तेल छविलाल जोशीमाथि कारबाहीको सिफारिस गर्नुका साथै नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङलगायतमाथि पनि अनुसन्धान गर्न सुझाव दिएको थियो।

समितिले २२ वटा समस्याग्रस्त र सार्वजनिक रूपमा प्रश्न उठेका १८ गरी ४० सहकारीको अध्ययन गरेर भदौ अन्तिम साता प्रतिवेदन बुझाएको थियो। ४० वटा सहकारीमा सर्वसाधारणको ७१ अर्ब ३० करोड बचत छ भने ८७ अर्ब ८९ करोड दायित्व रहेको देखिन्छ। यो प्रतिवेदनलाई मन्त्रिपरिषद्ले पारित गरेको छ। त्यसपछि अहिले उक्त प्रतिवेदन कार्यान्वयनको चरणमा रहेको गृहमन्त्री रमेश लेखकले बताएका छन्।

समितिको प्रतिवेदनमा सहकारीको रकम गोर्खा मिडियामा ल्याएर अपचलन गराउने कार्यमा अध्यक्ष जीबी, सदस्य रम्तेल, प्रबन्ध निर्देशक रवि र सञ्चालक छविलाल जिम्मेवार रहेको ठहर गर्दै कानुन बमोजिम कारबाहीका लागि सिफारिस गरेको थियो।

त्यसका साथै, हेटौंडाको मितेरी बचत तथा ऋण सहकारीको रकम अपचलनका विषयमा नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङमाथि समेत अनुसन्धान गर्न समितिले सिफारिस गरेको छ। सरकारले समितिको प्रतिवेदनअनुसार सिफारिस भएका सबै अनुसन्धानमा तानिने जनाएको छ।

मितेरी सहकारीका सम्बन्धमा अहिले नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो–सीआइबीले छानविन गरिरहेको छ। पोखराको सूर्यदर्शन सहकारीका जीबी र थानबहादुर बुढामगर, सहारा चितवनका दिनेश रोक्का, सुप्रिम बुटवलका सागर केसी, सानो पाइला वीरगन्जका तस्वीरण खातुनसँगै स्वर्णलक्ष्मी सहकारी काठमाडौंका भूपेन्द्र राईलाई कानुनी दायरामा ल्याउन संसदीय विशेष समितिले सरकारलाई निर्देशन गरेको छ।

यीमध्ये कतिपय महिनौंदेखि फरार छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट