भैंसेपाटीको चर्चित ‘हनि ट्रयाप’ प्रकरणमा अख्तियारका एसपी थापाकोसमेत संलग्नता देखिएको खुलासा

काठमाडौँ– प्रहरीको मिलेमतोमा जग्गा व्यवसायीलाई ‘हनी ट्रयाप’ मा पारी ३० लाख रुपैयाँ असुल गरेको घट्नामा अख्तियार दुरुपयोग अनुशन्धान आयोगमा कार्यरत एसपी कमल थापासमेत संलग्न रहेको खुलासा भएको छ।

यो घट्नाको योजनाकार सुनसरीका ताज स्लाम भएपनि प्रहरी प्रयोग गरेर रकम असुल गर्ने कामको सम्पूर्ण ब्यवस्थापन भने अख्तियार दुरुपयोग अनुसन्धान आयोगको केन्द्रीय कार्यालय टंगालमा कार्यरत एसपी थापाले मिलाएको खुलेको छ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय सुनसरीमा वस्दाको सम्वन्धलाई जोडेर थापाले यो घट्नाको तानाबाना वुनेको घटनाबारे छानबिन गर्न जिल्ला प्रहरी परिसर ललितपुरले डीएसपी नरहरि अधिकारीको नेतृत्वमा गठन गरेको समितिले फेला पारेको छ। प्रहरीका अनुसार सुनसरी वस्दा एसपी थापा र ताज स्लामको राम्रो सम्वन्ध थियो। यता कञ्चनपुर प्रहरीको नेतृत्वमा हुँदा इन्स्पेक्टर बिनुकुमारी शाही सँगै कार्यरत थिईन।

यही सम्वन्धका कारण ताजको योजनालाई इन्स्पेक्टर शाही मार्फत फत्ते गर्ने गरी थापाकै योजनामा प्रहरी प्रभाग भैंसेपाटी पठाईएको प्रहरीको भनाई छ। हालसम्म प्रहरीले यो घट्नामा संलग्न ताज स्लाम, प्रहरी प्रभाग भैंसेपाटीका सहायक हवल्दार महेन्द्र हमाल (इन्स्पेक्टर शाहीका गाडी चालक), सुनसरी इटहरीकी सुष्मा विक र भीमादेवी थापालाई पक्राउ गरेको छ। पक्राउ पुर्जी जारी भएका प्रहरी प्रभाग भैंसेपाटीकी तत्कालीन इन्सपेक्टर बिनुकुमारी शाही र इटहरीका दर्शन पोखरेल फरार छन्।

डीएसपी अधिकारी नेतृत्वको समितिले एसपी थापामाथि अनुसन्धान गर्न सुझाव दिएको छ। समितिको प्रतिवेदनमा उल्लेख भएअनुसार ७ असोजमा हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज र एसपी थापाबीच एक पटक फोनमा कुराकानी भएको र बलात्कार मुद्दामा फसाइदिने भन्दै ३० लाख दिन सहमत गराएको र २० लाख रुपैयाँ बुझेको दिन आधि घण्टासम्म भेटेरै कुराकानी गरेको खुलेको छ।

उनीहरुबीच त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अगाडिको एक रेष्टुरेन्ष्टमा ७ असोजको साँझ साढे ६ बजे भेट भएको थियो। करिब आधा घण्टा भेटघाट भएको सीसीटीभी फुटेज समेत समितिले फेला पारेको छ। उनीहरुबीच के विषयमा कुराकानी भयो भन्ने विषय नखुलेपनि भैंसेपाटीमा उजुरी हाल्नुअघि फोन सम्पर्क हुनु र काम भइसकेपछि रेष्टुरेन्टमा आधा घण्टासम्म कुराकानी हुन शंकास्पद भएको समिति स्रोतले जनाएको छ।

ताज स्लाम र एसपी थापाबीच यसअघि पनि सम्पर्क हुने गरेको र एसपीमार्फत नै सुनसरीको यो घटना भैंसेपाटीमा उजुरी दिएर रकम असुल्ने योजनाअनुसार काम भएको समितिको निष्कर्ष छ। यो प्रकरणमा नाम जोडिएपछि थापालाई अख्तियारबाट प्रहरी प्रधान कार्यालयले फिर्ता बोलाएको छ।

के थियो घट्ना ?
प्रहरीका अनुसार हाल प्रहरी हिरासतमा रहेकी धनकुटा घर भएर इटहरी बस्ने १९ वर्षीया सुष्मा सुनसरीकै एक होटलमा वेटरको काम गर्थिन। त्यसै क्रममा ललितपुरको लुभु बस्ने जग्गा व्यवसायी उनको होटलमा पुग्छन्। होटलमा आउजाउ गर्ने क्रममा व्यवसायीसँग सुष्माको चिनजान भयो। उनीहरु नजिकिँँदै गए। व्यवसायीकै गाडीमा विभिन्न ठाउँ घुमघाम पनि गरे।

उनीहरुको सम्वन्ध बारे हिरासतमा रहेका ताज र फरार दर्शनले थाहा पाउँछन्। उनीहरुले सुष्मालाई प्रयोग गरेर रकम असुल गर्ने योजना बनाउँछन्। प्रहरीका अनुसार ताज र दर्शनले यस्तै प्रकृतिका घटनामा युवतीलाई बलात्कारको उजुरी दिन लगाएर मोटो रकम असुल्दै आएको खुलेको छ।

सुष्मासँग कुरा गरेपछि उनीहरुले आफू अनकुल ठाउँको खोजी गर्छन। सुरुमा उनीहरुले इलाका प्रहरी कार्यालयबाटै काम गर्ने योजना बनाउँछन्। तर, त्यहाँबाट आफु अनुकुल काम नहुने भएपछि सहज ठाउँ खोज्ने क्रममा यसअघि सुनसरीको एसपी भएका कमल थापासँग ताजले सम्पर्क गर्छन।

एसपी थापामार्फत नै उनीहरु इन्स्पेक्टर बिनुकुमारी शाहीलाई पछ्याउँदै भैंसेपाटी पुगेको छानविन समितिको निष्कर्ष छ। त्यसका लागि सुनसरीबाट ताज र दर्शन जहाजमा र सुष्मा र भीमा गाडी चढेर काठमाडौँ पुगेका थिए। उनीहरुले सुरुमा व्यवासयी विरुद्ध ७ असोजमा शान्ति सुरक्षाको माग गर्दै प्रहरी प्रभाग भैंसेपाटीमा निवेदन दिएका थिए।

शान्ति सुरक्षाको निवेदन जिल्ला प्रशासन कार्यालयमार्फत प्रहरीकोमा पुग्ने चलन छ। तर, यस्तो निवेदन प्रहरीमा दर्ता गराइएकाले सुरुबाटै घटना शंकास्पद बनेको अनुसन्धानबाट खुलेको छ। शान्ति सुरक्षाको निवेदन दर्ता भएपनि व्यापारीलाई बोलाएर बलात्कारको विषयमा छलफल गराइएको थियो। जुन विषय भैसेपाटी प्रहरीको कार्यक्षेत्र भित्र पर्दैन। किनकी बलात्कारको मुद्दा भैंसपाटीबाट चल्दैन।

छलफलका क्रममा व्यवसायीलाई बलात्कार मुद्दामा फसाइदिने भन्दै प्रहरी कार्यालयभित्र त्यो पनि इन्सपेक्टर शाहीकै रोहबरमा ६० लाख रुपैयाँको वार्गेनिङ भएको थियो। पछि ३० लाख रुपैयाँ दिने सहमति भएपछि १३ लाख र ७ लाख रुपैयाँ गरेर दुई पटकमा भीमाकुमारीको खातामा २० लाख रुपैयाँ रकम जम्मा भएको खुलेको छ। एक अनुसन्धान अधिकृतका अनुसार रकम जम्मा गर्न इन्सपेक्टर शाहीका गाडी चालक हमाल समेत एभरेष्ट बैंक पुगेका थिए। व्यवसायीले १० लाखको चेक नै दिएका थिए।

घट्नापछि पीडित व्यवसायी जिल्ला प्रहरी परिसर ललितपुरमा गएर बताएपछि अनुसन्धान गर्दा इन्सपेक्टर शाहीको भूमिका समेत शंकास्पद देखियो। त्यसपछि छानविन गर्न डीएसपी अधिकारीको नेतृत्वमा समिति गठन भयो। समितिले इन्सपेक्टर शाहीको मोबाइल समेत नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको थियो।

उनलाई वयानका लागि बोलाए पनि उपस्थित भएर ‘यो समितिमाथि मलाई विश्वास छैन’ भन्दै हिडेको समितिले जनाएको छ। अनुसन्धानका क्रममा रकम जम्मा गर्न लगाउने, हनी ट्रयाप प्रकरणका मुख्य योजनाकार ताज स्लामको मोबाइल र १० लाख रुपैयाँको चेक गायव पार्ने काम इन्सपेक्टर शाहीले नै गरेको समितिले निष्कर्ष निकालेको छ।

इन्स्पेक्टर शाहीले ताज र सुष्माको मोबाइल लिएर सुष्माको मोबाइलमा भएको फिंगर प्रिन्टसमेत परिवर्तन गरेको खुलेको छ। सुष्माको मोवाईलमा ताजको फिंगर प्रिन्ट सेट गरिएको र सुरुमा उक्त मोवाई ताजले पनि आफनै भएको बताएको समितिले जनाएको छ। अनुसन्धानका क्रममा भने उक्त मोबाइल ताजको नभई सुष्माको भएको खुलेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट