प्रधानमन्त्री केपी ओलीलाई कारवाही गर्न माग गर्दै युवराज सफलले अख्तियारमा दिए उजुरी (उजुरीसहित)

काठमाडौँ– पार्टी कार्यालय निर्माणका लागि व्यापारीसँग जग्गा लिएको आरोपमा प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारवाही गर्न माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ।

सिन्धुलीका युवराज पौडेल (सफल) ले भ्रष्टाचार निवारण ऐन २०५९ अनुसार आवश्यक अनुसन्धान गरी हदैसम्म कारबाही माग गर्दै बिहीबार ओली विरुद्ध आयोगमा उजुरी दर्ता गराएका हुन्।

‘विवादास्पद व्यक्तिबाट करोडौँ रुपैयाँको जग्गा घुस बापत लिने र करोडौँ खर्च गरी पार्टी कार्यालयसमेत बनाउन लगाउने प्रधानमन्त्री केपी शर्मा ओली र त्यसरी आफ्नो व्यवसायगत एवम् व्यक्तिगत फाइदा एवम् लाभ लिने, आफ्ना मुद्दाहरू खारेज गर्ने नियतका साथ करोडौँ रुपैयाँ बराबरको जग्गा घुस दिने भाटभटेनी सुपर मार्केट प्रा.लि.का संचालक मीनबहादुर गुरुङलाई भ्रष्टाचार निवारण ऐन २०५९ (संशोधन सहित) बमोजिम तत्काल पक्राउ गरी हदैसम्मको कारबाही गर्नुपर्ने।’– भन्दै उजुरीमा उल्लेख गरिएको छ।

यता, एमालेले भने गुरुङले जग्गा दान गरेको विषयमा अनावश्यक टिकाटिप्पणी भएको भन्दै भर्त्सना गरेको छ। प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले विज्ञप्ति जारी गरी व्यवसायी मीनबहादुर गुरुङले जग्गासहित केन्द्रीय कार्यालय भवन बनाइदिने प्रस्तावलाई एमालेले संस्थागत रुपमै स्वागत गरेको उल्लेख गरेका छन्।

गुरुङ एमालेको समर्थक रहेको भन्दै विज्ञप्तिमा भनिएको छ–‘निज मीनबहादुर गुरुङ विद्यार्थी कालदेखि धरानमा अध्ययन गर्दा अनेरास्ववियु र स्ववियुको सक्रिय कार्यकर्ता रहेको र नोकरीको सिलसिलामा नेपाल बैंक लिमिटेडमा कार्यरत रहँदा बैंकिङ सेक्टरको केन्द्रीय कार्य समितिको सदस्य भई काम गरेको। अन्तरसंस्थानको केन्द्रीय कोषाध्यक्ष भई ट्रेड युनियन आन्दोलनमा अग्रणी भूमिका निर्वाह गरी पार्टीको वैचारिक र राजनीतिक सामिप्यतामा रही कार्य गरेको तथ्य जगजाहेर छ ।’

गौतमले गुरुङसँग कुनै सौदावाजी र लेनादेना नगरेको दाबी पनि गरेका छन्। ‘यसमा कुनै किसिमको पनि सौदाबाजी र लेनादेना छैन। उहाँका नाममा विचाराधीन रहेका मुद्दाहरुको बारेमा उहाँ आफैंले फेस गर्ने हो, संविधान, कानुन भन्दा माथि कोही पनि छैन’– विज्ञप्तिमा भनिएको छ।

भाटभटेनी सुपर मार्केटका अध्यक्ष मीनबहादुर गुरुङले एमालेको केन्द्रीय पार्टी कार्यालयको निर्माण गर्नको लागि १० रोपनी १४ आना जग्गा दान गरेका छन्। यो विषय विवादमा छ।

विसं २०७२ मा आएको भूकम्पबाट काठमाडौँ महानगरपालिका–१४ बल्खुमा रहेको पार्टी केन्द्रीय कार्यालय क्षतिग्रस्त भएपछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) कार्यालयविहीन भएको र त्यसबीचमा भाडामा धुम्बाराहीस्थित पासाङ ल्हामु प्रतिष्ठान, थापाथली हाइट हुँदै ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानको कार्यालयलाई केन्द्रीय कार्यालयका रुपमा प्रयोग गर्दै आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट