१५ हजार भारुमा श्रीमती विक्री, २४ वर्षपछि श्रीमान पक्राउ

काठमाडौँ– २४ वर्षअघि १५ हजार भारुमा श्रीमती बेचेको आरोपमा प्रहरीले पश्चिम सुर्खेतको चौकुने गाउँपालिका–७ का ६१ वर्षीय भक्तबहादुर विष्टलाई बुधबार पक्राउ गरेको छ। उनलाई घरमै पक्राउ गरिरहेको हो।

भक्तबहादुरविरूद्ध २४ वर्षअघि (१३ मंसिर ०५७) नै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा जाहेरी परेको थियो। उनी मानव वेचविखन विरुद्धको मुद्दामा फरारको सूचिमा थिए। जाहेरी अनुसार ३५ वर्षका भक्तबहादुरले सोही ठाउँकी २१ वर्षीया नामसरादेवी कँडेललाई विवाह गरेर १ असोज २०५७ मा भारतको गोरखपुर पु¥याएका थिए।

२ महिना त्यहाँ वसेपछि भक्तबहादुरले भारतीय नागरिकलाई १५ हजार रुपैयाँ भारुमा बेचेको जनाईएको छ। ७ मंसिर २०५७ मा नामसरादेवीलाई आफूले किनेको भन्दै एक जना व्यक्ति लिन आए। तर, उनी जान मानिन्। त्यसपछि भक्तबहादुरले उनलाई मार्ने धम्की दिए।

श्रीमानबाटै बेचिएको थाहा पाएपछि उनी शौचालय जाने बहानामा भागेर भारतीय प्रहरीको सम्पर्कमा पुगिन। त्यसपछि बेच्ने र किन्ने व्यक्ति फरार भए। नामसरा भारतीय प्रहरीको सहयोगमा नेपाल आईन। त्यसपछि उनले आफूलाई विवाह गरेर भारत पु¥याएको र एक भारतीय नागरिकलाई बेचेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिईन।

०७६ सालमा अदालतले भक्तबहादुरलाई पक्राउको अनुमति दिएको थियो। तर फरार रहेका भक्तबहादुर भारतमै लामो समय लुकेर बसेको खुलेको छ। जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माका अनुसार मानव बेचबिखनविरुद्धको मुद्दामा हदम्याद असीमित हुने भएकाले खोजतलासका क्रममा भक्तवहादुर पक्राउ परेका हुन।

जाहेरीवाली नामसरादेवीको भने ९ वर्षअघि नै मृत्यु भइसकेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट