प्रहरीको अनुशन्धान भन्दा छिमेकीको ‘कन्सुत्ली’ ले पर्दाफास भयो राजेश ठाकुरको हत्या प्रकरण

दमक– झापाको बाह्रदशी गाउँपालिका–५, फूलबारीका राजेश ठाकुर (२२) ४ महिना (१५ जेठ) देखि सम्पर्कविहिन थिए। घरपरिवार, आफन्त र प्रहरीसमेत लागेर खोज्दा पनि उनको अवस्था ज्ञात हुन सकेको थिएन।

राजेश हराएको आसपासका गाउँ र मिडिया हुँदै देशविदेशमा हल्ला चलिसकेको थियो, तर हल्ला वाहेक अर्को उपलब्धि भने हात लागेको थिएन। यसैबीच १७ असोजमा कल्पना नै नगरेको र असम्वन्धित ठाउँमा राजेशको प्रशंग उठ्यो। करिव २ किलोमिटर टाढा बाह्रदशी गाउँपालिका–७, सिमलचौकका दुर्गा थापा र उनका छोरा आशिसको बीचमा भएको झगडाले राजेशको अवस्था पत्ता लगाउन सुराकको काम गर्यो।

पैसाको हिसाबकिताब नमिलेपछि भएको घर झगडा अरुले खासै वास्ता गर्ने विषय थिएन। तर, नेपाली समाजको विशेषता न हो– थाहा नपाए झै गर्ने तर कन्सुत्लो गर्ने। बुबा छोरा भनाभन गर्दै थिए। आवेशमा आएका बुबाले छोरालाई ‘मारिदने’ धम्की दिए। सामान्य झगडामा छोरालाई मार्ने धम्की आफैंमा असामान्य थियो। त्यसमाथि उदाहरणमा दुर्गाले राजेशको नाम लिएपछि जो कसैको ध्यान केन्द्रित हुनु स्वाभिकै थियो। ‘एउटा हजाम केटालाई दफनाउँदा त केही भएन, तँलाई पनि दफनाइदिन्छु,’ भन्दै दुर्गाले छोरालाई दिएको धम्की कन्सुत्लो लागेका छिमेकीका कानमा पर्यो।

त्यो कुरा छिमेकीले राजेशको परिवारलाई सुनाइदिए। प्रहरीसम्म पनि यो कुरा पुग्यो। तत्कालै एक्सनमा आएको प्रहरी दुर्गाको घर पुग्यो, तर उनी गाउँबाट भागिसकेका रहेछन्। अनुशन्धानको तार जोड्दै जाँदा राजेश वेपत्ता हुनुमा दुर्गाका छिमेकी मुना मेचे राजवंशी (२०) को परिवार जिम्मेवार रहेको कुरा प्रहरीले सुईँको पाईसकेको थियो।

प्रहरीले मुना लगायतका केही ब्यक्तिलाई पक्राउ ग¥यो र उनीहरूको घर सिल गरेर शव खोज्न थाल्यो। घरको बाहिरी भाग उत्खनन् गर्दा केही पनि फेला परेन। भान्सा कोठा बाहेक घरमा सिमेन्ट प्लास्टर गरिएको थियो। तर, भान्सा कोठा खन्दा नुनका पोका, डोरी, दाउ र कपडा भेटियो।

यती प्रमाण भेटिएपछि मुनाकै परिवारले राजेशको हत्या गरेको आशंकालाई थप बल पुग्यो। त्यसपछि भने उनीहरुले पनि हत्या गरेको स्वीकार गरे। मुना, उनका देवर गणेश, जेठाजु समिर (३१) समेतले मिलेर हत्या गरेको खुल्यो। तर शव कहाँ छ भन्ने कुरा गणेशलाई मात्रै थाहा भएको उनीहरुले बताए। राजेशको हत्या गरेर गणेश दुबई गईसकेका थिए।

प्रहरीले परिवारका सदस्यमार्फत गणेशलाई सम्पर्कमा ल्यायो। भीडीओ कलमार्फत उनले नै राजेशको शव बाह्रदशी गाउँपालिका–७, स्थित बिरिङ खोलाको पश्चिम किनारमा गाडेको देखाइदिए। राजेशको शव सुरुमा भान्सा कोठामै गाडेको र पछि ठाउँ सारेर बगरमा गाडेको खुल्यो।

बिरिङ खोलाको बगरमा २ वटा एस्काभेटर प्रयोग गरेर उत्खनन् सुरु भयो। खोजतलास सुरु गरेको दोस्रो दिन राजेशको कंकाल फेला पर्यो। टाउकाको हड्डी, नलीहाडसहितको कंकाल बाहेक अन्य भाग भने सडिसकेको थियो।

४ महिना अघि भएको के थियो ?
राजेश भीम हजाम (५५) का जेठा छोरा हुन्। उनका तीन छोरी र तीन छोरा थिए। फूलबारीमा भीमको आफनै सैलुन छ। त्यहाँ उनी र माइलो छोरा काम गर्थे। राजेश भने प्रायः बिर्तामोड बजारमा अर्काकै सैलुनमा काम गर्थे भने कहिलेकाहीँ मात्रै आफ्नो सैलुनमा बस्थे।

विदेश जाने सोचमा रहेका उनले पासपोर्ट रेडी राखेका थिए। दसैँ मानेर विदेश जाने तयारीमा रहेका उनी हराएको दिन पनि बिर्तामोड बजारमा कपाल काटेर फर्किएका थिए। साँझपख छिमेकी विरामी भएकाले बुबा–आमा त्यता लागे। उनीहरू फर्किंदा राजेश घरमा थिएनन्। उनको साइकल पनि थिएन।

राति अबेरसम्म राजेश घर नफर्किएपछि बुबाआमाको छटपटी सुरु भयो। फोन गरेर आफन्तकोमा सोधीखोजी गरे। गाउँघरमा पनि राजेश हराएको हल्लाखल्ला चल्यो। ३ दिनसम्म पनि फर्केर नआएपछि राजेशको खोजतलासको निवेदन लिएर बुबा इलाका प्रहरी कार्यालय अनारमनी पुगे। फोटोसहितको हुलिया टिपाए। यसरी छोराको खोजीमा ४ महिना बित्यो। अन्त्यमा आफन्त नै पर्ने मुनाको परिवारका सदस्य मिलेर राजेशको हत्या गरेको खुल्यो।

यस कारण भयो हत्या
प्रहरीका अनुसार विद्यालय जाने उमेरदेखि नै मुना र राजेशको चिनजान थियो। राजेश मुना पढ्ने विद्यालयको बसका सहचालक थिए। राजेश र मुना प्रेम सम्वन्धमा रहेको प्रशंग पनि वाहिर आएको छ। तर, दुईतिर प्रेम सम्वन्धमा रहेकी मुनाले राजेशलाई धोका दिएर बसका चालक अभय राजवंशीसँग भागेर विवाह गरिन। विवाहपछि मुना र राजेशको सम्वन्धमा चिसोपन आयो। यसैक्रममा अभय वैदेशिक रोजगारीमा साउदी अरव गए।

त्यसपछि मुनाले उनकै देवर गणेशसँग सम्वन्ध राख्न थालेको स्रोतको दावी छ। गणेश अविवाहित हुन। यता, राजेशसँग पनि मुनाको सामाजिक सञ्जालमा कुराकानी हुने गरेको थियो। यो कुरा गणेशले थाहा पाए। यस विषयमा गणेशले मुनासँग सोधखोज गरे। मुनाले आफ्नो केही नभएको र राजेशले एकतर्फी मात्रै मन पराउने गरेको बताईन।

त्यसपछि गणेशले ‘आफ्नी भाउजूको पछि लागेको’ आरोपमा राजेशलाई घरमै बोलाएर हत्या गर्ने योजना बनाए। योजना अनुसार राजेशलाई मुनाले घरमा बोलाईन। १५ जेठको राती करिब साढे ११ बजे राजेश मुनाको घरमा पुगे। गणेश र मुनाले मिलेर राजेशलाई डोरीले बाँधे। त्यसपछि सवै जना मिलेर कुटपिट र धारिलो हतियारले हानेर उनको हत्या गरेको खुलेको छ।

प्रहरीले अहिले घट्नामा संलल्न भएको आरोपमा मुना, समीर र भतिजा नरेश (१६) लाई पक्राउ गरेको छ। घट्नाका मुख्य योजनाकार गणेशलाई पनि दुबईबाट झिकाउने प्रयास भईरहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी कृष्णकुमार चन्दले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट