दुई महिनामै ५.५ प्रतिशतले बढ्यो विदेशी विनिमय सञ्चितिः १४ महिनाको वस्तु र सेवाको आयात धान्ने

काठमाडौं– चालु आर्थिक वर्ष २०८१/८२ को सुरुका दुई महिनामै विदेशी विनियम सञ्चिति साढे २१ खर्ब पुगेको छ।

असार मसान्तमा २० खर्ब ४१ अर्ब १० करोड बराबर रहेको कुल विदेशी विनिमय सञ्चिति भदौ मसान्तमा ५.५ प्रतिशत (१ खर्बभन्दा बढीले वृद्धि) ले बढेर २१ खर्ब ५२ अर्ब ५३ करोड पुगेको हो।

नेपाल राष्ट्र बैंकले मुलुकको आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदन मार्फत यो तथ्यांक सार्वजनिक गरेको हो। अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड थियो। २०८१ भदौ मसान्तमा ५ प्रतिशतले बढेर १६ अर्ब ४ करोड पुगेको बैंकको तथ्यांकमा उल्लेख छ।

विदेशी विनिमय सञ्चितिमध्ये राष्ट्र बैंकमा १९ खर्ब २८ अर्ब ९९ करोड पुगेको छ भने अन्य बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग २ खर्ब २३ अर्ब ५३ करोड कायम भएको जनाईएको छ। कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २२.१ प्रतिशत छ।

आव २०८१/८२ को दुई महिनाको आयात आधार मान्दा बैकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति १६.८ महिनाको वस्तु आयात र १३.७ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।

२०८१ भदौ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ उत्पादन (जीडीपी) सँगको अनुपात ३७.७ प्रतिशत, कुल आयातसँगको अनुपात ११४.४ प्रतिशत र विस्तृत मुद्राप्रदायसँगको अनुपात ३०.८ प्रतिशत छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट