चर्चित व्यवसायी रतन टाटाको जिवन यात्राः हजुरआमाका लागि प्रेमिका छोडे, आजिवन अविवाहित रहे

काठमाडौँ– चर्चित भारतीय उद्योगी तथा व्यवसायी रतन नेवल टाटाको ८६ वर्षको उमेरमा निधन भयो। सन् १९३७ डिसेम्बर २८ मा जन्मिएका उनको मुम्बईको ब्रिच क्यान्डी हस्पिटलमा बुधबार राति निधन भएको हो।

अत्यन्तै सफल व्यवसायी टाटाको ब्यक्तिगत जिवन भने खासै सफल देखिएन। उनको प्रेम अधुरै रह्यो भने आजिवन अविवाहित रहे। सन् १९६२ तिर कलेज सकेर जागिरका लागि अमेरिका पुगेका उनी त्यही बेला उनी एक युवतीसँग प्रेममा परे। विवाह हुने पक्का भएपछि तयारी सुरु भयो। कार्ड समेत छापियो।

तर भारतमा रहेकी हजुरआमाको खराब स्वास्थ्यका कारण रतन भारत फर्कनु पर्यो। उनी प्रेमिकालाई सँगै भारत ल्याउन चाहन्थे। तर, केटीको परिवारले मानेन। भारत फर्किएपछि उनले विवाहको योजना त्यागिदिए। आजीवन अविवाहित रहे। विवाहको लागि आएका दबाब उनले ठाडै अस्वीकार गरे।

टाटाले विवाह नगर्नुलाई कतिपयले आमा–बुवाको सम्बन्धसँग जोडेर हेर्ने गरेका छन्। उनका आमा–बुवाको वैवाहिक सम्बन्ध टुटेको थियो। त्यति बेला उनी १० वर्षको मात्र थिए। त्यसपछि उनको रेखदेखको सम्पूर्ण जिम्मेवारी उनको हजुरआमा नवजैबाईले नै लिइन्। नवजैबाईले नै रतनलाई हुर्काएकी थिइन्। त्यसैले हजुरआमाको लागि आफ्नी प्रेमिकालाई नै छाडिदिए।

रतन टाटाले सन् १९५९ मा अमेरिकाको कोर्नेल विश्वविद्यालयबाट वास्तुकला र संरचनात्मक इन्जिनियरिङमा डिग्री गरेका थिए। अविवाहित टाटाको सम्पत्ति ३ वर्षअघि करिब २४२ बिलियन अमेरिकी डलर पुगेको थियो। उनका कम्पनीमा लाखौँले रोजगारी पाएका छन्।

उनी टाटा ग्रुपको होल्डिङ कम्पनी टाटा सन्सका पूर्वप्रमुख थिए। पछिल्लो समय बुढ्यौली जीवन बिताइरहेका टाटा भारतकै प्रभावशाली व्यवसायी थिए। टाटा ग्रुपले १ खर्ब अमेरिकी डलर बढीको आम्दानी गर्दै आएको छ।

यो ग्रुपले २०२२ जनवरी २७ देखि भारतीय ध्वजावाहक एयर इन्डिया खरिद गरी ग्राउन्डेड विमानलाई पुनः आकाशमा फर्काएको थियो। त्यसलगत्तै ४७० वटा विमानको अर्डर मागेको थियो। यसले १०२ घरेलु तथा बाह्य गन्तव्यमा उडान भर्दै आएको छ। यसबाट ग्रुपले २०२४ मा मात्रै ३ खर्ब ८८ अर्ब १२ करोड भारु आम्दानी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट