झापाको ‘ठाकुर हत्याकाण्ड’ पनि अनैतिक सम्वन्धकै कारण भएको खुलासा, यसरी मारिए मुनाका पूर्वप्रेमी

दमक– वलिउड सिनेमा ‘दृश्यम’को कथा जस्तो लाग्ने झापाको चर्चित हत्याकाण्ड अन्ततः अनैतिक सम्वन्धकै कारण भएको खुलासा भएको छ। बाह्रदशी गाउँपालिका–७, सिमलवारीकी मुना मेचे (राजवंशी) (२०) को एकपछि अर्को अनैतिक सम्वन्धका कारण उनका पूर्वप्रेमी राजेश ठाकुर (२१) ले ज्यान गुमाएको प्रहरीले खुलासा गरेको हो।

प्रहरीका अनुसार मुनाका पति अभय राजवंशी वैदेशिक रोजगारीका लागि साउदी अरबमा छन्। मुना ५ वर्षका सन्तानसहित घरमा एक्लै बस्दै आएकी थिइन्। यसैक्रममा मुनाका पूर्वप्रेमी भनिएका राजेश १५ जेठको मध्यराती उनको घरमा पुगेपछि घटना भएको देखिएको छ।

हालसम्मको अनुशन्धान अनुसार बाह्रदशी –५, फूलबारीका राजेश र मुना प्रेम सम्वन्धमा थिए। तर, दुईतिर प्रेम सम्वन्धमा रहेकी मुनाले राजेशलाई धोका दिएर अभयसँग भागेर विवाह गरिन। विवाहपछि मुना र राजेशको सम्वन्धमा चिसोपन आयो। यसैक्रममा अभय वैदेशिक रोजगारीमा गए।

त्यसपछि मुनाले उनकै देवर गणेशसँग सम्वन्ध राख्न थालिन। गणेश अविवाहित हुन। १५ जेठको राती करिब साढे ११ बजे राजेश मुनाको घरमा पुगेपछि घट्नाको सुरुवात भएको खुलेको छ। राजेश घरमा पुगेपछि मुनाले देवर गणेशलाई ‘घरमा चोर पस्यो’ भन्दै खबर गरिन।

केही दुरीमा घर भएका गणेश मुनाको घरमा पुगेपछि दुवैले मिलेर राजेशलाई डोरीले बाँधेर राखेका थिए। त्यति नै बेला मुनाका भतिज नरेश राजवंशी (१६) घट्नास्थलमा पुगे। उनले प्रहरी बोलाएर राजेशलाई जिम्मा दिन सल्लाह दिए। तर, आवेशमा आएर मुना र गणेशले कुटपिट र धारिलो हतियारले हानेर राजेशको हत्या गरे।

राजेश वेपत्ता भएपछि उनको परिवारले खोजतलासको माग गर्दै १७ जेठमा प्रहरीमा निवेदन दिएको थियो। प्रहरीले अनुशन्धान गर्दै जाँदा मुनाका भतिजा नरेशले राजेशको हत्या भईसकेको सूचना चुहाए। राजेशको शव गाड्ने काममा आफूले पनि सहयोग गरेको भन्दै नरेशले प्रहरी समक्ष मुना र गणेशको नाम पोलेपछि शवको खोजी सुरु भएको थियो।

शव लुकाइएका सम्भावित स्थानहरू खोज्ने क्रममा मुनाको घर, आँगन सवैतिर खनियो। तर, शव फेला परेन। तर उत्खननका क्रममा राजेशले लगाएको लुगा, नुनका खाली प्याकेट र एउटा दाउ भेटिएको थियो।

त्यसपछि प्रहरीले दुई दिन लगाएर विरिङ खोलाको बगर उत्खनन् गर्यो। अन्ततः करिब ४ महिनाअघि हत्या गरी गाडेको अवस्थामा राजेशको शव शनिबार साँझ फेला पर्यो। अस्थिपञ्जर मात्रै बाँकी रहेको उनको शव पोष्ट मार्टमका लागि सुनसरीको धरानस्थित वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाईएको प्रहरी कार्यालय बिर्तामोडका डीएसपी प्रकाश विष्टले जानकारी दिए।

अनुसन्धानका क्रममा ठाकुरको हत्या गरी सुरुमा मुनाको भान्सा घरमा र पछि ठाउँ सारेर खोला किनारमा गाडिएको खुलेको प्रहरीले जनाएको छ। घट्नामा संलल्न भएको आरोपमा प्रहरीले मुना, नरेश, मुनाका जेठाजु समीर राजवंशी (३१) र गणेशका साथी सोही ठाउका आशिष थापा (२१) लाई पक्राउ गरेको थियो। थापा भने छुटिसकेका छन्। राजेशको हत्या गरेर भागेका गणेशलाई दुबईबाट झिकाउने प्रयास भईरहेको डीएसपी विष्टले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट