सहकारी प्रकरणमा रवि लामिछानेको बचाउमा लागे प्रचण्ड, यस्तो छ कारण

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवम् पूर्वगृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा विवादमा परेपछि उनको आफनै निर्वाचन क्षेत्रमा विरोध भईरहेको छ। उनलाई कतै खोया प्रहार गरिँदैछ भने कतै कालो ब्यानरसहित प्रदर्शन भएको छ।

यतिमात्रै होईन, लामिछाने सहभागि उनको आफनै निर्वाचन क्षेत्रको कार्यक्रममा सहकारी पीडित र रास्वपाका कार्यकर्ताबीच ढुङ्गा हानाहानको अवस्था समेत आएको छ। सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा बनेको संसदीय छानबिन विशेष समितिले पनि रवि गोरखा मिडियामा आएको करोडौं रकम अपचलनमा मुछिएको भन्दै कारबाही सिफारिस गरेको थियो।

नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र र रास्वपाका सांसदहरु रहेको समितिको सर्वसम्मतीले उक्त प्रतिवेदन आएको थियो। माओवादीका सदस्य लेखनाथ दाहाल र रास्वपाका सदस्य शिशिर खनालसमेतले हस्ताक्षर गरेको प्रतिवेदन ३१ भदौमा सार्वजनिक भएको थियो।

प्रतिवेदनले रविमाथि कारबाही गर्न स्पष्टरूपमा सिफारिस गरेको छ। प्रतिवेदनमा भनिएको छ– ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तबरबाट गोरखा मिडिया नेटवर्क प्रालिको खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने/गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गितेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानूनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’– छानबिन समितिले भनेको थियो ।

रवि स्वयंले पनि गोरखा मिडियामा आएको रकमको कानूनी, आर्थिक र सबै खालको दायित्व निभाउने बताएका छन्।

तर, आफनै पार्टीका नेताले हस्ताक्षर गरेको प्रतिवेदन सार्वजनिक भईसक्दा पनि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भने रवि प्रकरणमा दहीच्युरे (विरोधाभाषपूर्ण) चरित्र प्रदर्शन गरिरहेका छन्। उसो त गोरखा मिडियामा आएको रकमको दायित्व आफूले लिने रविले नै बताएका छन्। तर, दाहालले भने आइतबार चितवन पुगेर रविको बचाउ गरे।

संसदीय समितिले रविलाई आरोपित नगरेको र गोरखा मिडियासँग सम्वन्धित विषय मात्रै छ भनेको उनले बताए। दाहालले भने –‘सहकारीको विषयमा छानबिन गर्न कार्यदल बनाउनुपर्छ भन्नेमा म पनि हो, रविजी पनि हो। बरु कार्यदल बनाउनु हुँदैन र विरोध छ भनेर बोल्ने केपी ओलीजी नै हो। कार्यदलले सहकारी ठगीमा रविलाई आरोपित गरेको छैन। गोरखा मिडियासँग सम्बन्धित विषयमा केही चिज छ भनिएको छ।’

यद्यपी उनले आफूले केही कुरा नरोकेको पनि बताए। ‘मैले रविलाई गलत ढंगले क्लिन चिट दिने काम गरेको छैन। प्रधानमन्त्री हुँदा पनि रविको बारेमा प्रमाण छ भने भन्नुस् भनेर तीनवटै सुरक्षा संयन्त्रलाई भनेको हुँ। पोखरामा पनि समस्या छ भने भन्नुस्, संसद्मा जवाफ दिन्छु, भनेको थिएँ। तर, मैले रोकेर रोकिने कुरा पनि होइन। मैले रोकेको पनि छैन।’

माओवादीका एक नेता भने कांग्रेस र एमालेले पेलेपछि विपक्षीलाई बलियो बनाउने दाउमा दाहाल रहेको बताए। ‘हिजो कहिले कांग्रेस, कहिले एमाले ठीक भयो। आज दुवैले साथ नदिएपछि रास्वपासँग उहाँको निकटता देखिन्छ। हाम्रो अध्यक्ष पार्टीभित्रै त खेल्नुहुन्छ, अरू दलबीच पनि खेल्नु कुन नयाँ तरिका भयो ?’– उनले भने।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट