२१ वर्षीय युवकको हत्या गरी पहिला घरमै र पछि खोला किनारमा गाड्ने ४ जना छिमकी पक्राउ

दमक– झापामा २१ वर्षीय युवकको हत्या गरी पहिला घरभित्रै र पछि ठाउँ सारेर खोला किनारमा गाडिएको अवस्थामा शव फेला परेको छ। चार महिना (१५ ज्येष्ठ) देखि हराएका बाह्रदशी गाउँपालिका–५ फूलबारीका राजेश ठाकुरको शव आज फेला परेको हो।

इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी प्रकाश विष्टका अनुसार बाह्रदशी गाउँपालिका–७ स्थित विरिङ खोला किनारमा गाडिएको अवस्थामा शव उत्खनन गरिएको छ। शव सडेको अवस्थामा फेला परेको उनले जानकारी दिए।

लाफादी घाटको पश्चिमतर्फ खोला किनारमा करिव ५ फुट गहिरो खाडल खनेर शव पुरिएको अवस्थामा फेला परेको हो। ४ दिन लगाएर गरिएको उत्खननको क्रममा हजामको शव फेला परेको हो। शुक्रवार विरिङ खोलाको दुई ठाउँमा उत्खनन गरिएको थियो भने बुधबार र विहिबार ठाकुरकै छिमेकी २० वर्षीया मुना मेचे (राजवंशी)को घर र आँगन खनेर शव खोजिएको थियो। घर र आँगन खन्दा नुनका बोरा, ठाकुरका कपडा र हत्यामा प्रयोग गरिएको बाम्फोक (दाउ) बरामद भएको थियो।

ठाकुरको हत्यामा संलग्न भएको आशङ्कामा प्रहरीले मुना, उनका भतिज १६ वर्षीय नरेश राजवंशी, जेठाजु ३१ वर्षीय समीर राजवंशी र २१ वर्षीय आशिष थापालाई पक्राउ गरेको छ। मुनाका देवर गणेश राजवंशी भने घट्नापछि दुबई पुगेको खुलेको छ। मुनाका श्रीमान् अभय राजवंशी भने पहिलादेखि नै साउदी अरबमा छन् ।

पक्राउ परेकाहरुको बयानका आधारमा प्रहरीले २ वटा एस्काभेटर प्रयोग गरी विरिङ खोलामा उत्खनन गरेको थियो। भतिजा नरेशले आफ्नी काकी मुना र काका गणेशले राजेशको हत्या गरेर गाडेको प्रहरीलाई बताएका थिए। शव गाड्ने काममा आफूले पनि सहयोग गरेको नरेशले स्वीकार गरेका छन्।

भीम हजामका छोरा राजेश हराएको भन्दै १७ जेठमा खोज तलासका लागि परिवारकातर्फबाट प्रहरीमा निवेदन परेको थियो। अनुसन्धानका क्रममा ठाकुरको हत्या गरी सुरुमा भान्सा घरमा र पछि ठाउँ सारेर खोला किनारमा गाडिएको खुलेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट