बीपी राजमार्ग दसैंअघि सञ्चालन नहुने, हरेश खायो सरकार

काठमाडौँ— दसैंअघि नै वीपी राजमार्ग सञ्चालनमा ल्याउने योजनाबाट सरकारले हरेस खाएको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दसैंअघि वीपी राजमार्ग सञ्चालन हुने सम्भावना नरहेको जनाएको छ।

नेपालथोक–धुलिखेल खण्डको धेरै ठाउँमा सडक बाढीले बगाएका कारण दसैंअघि यो खण्ड सञ्चालनमा ल्याउन गाह्रो हुने मन्त्रालयका सचिव केशवकुमार शर्माले बताए। सडक खुलाउने प्रयास भइरहे पनि खुल्ने सम्भावना कम रहेको सुनाए।

तत्काल सडक बगेर फसेका गाडीलाई निकाल्ने गरी काम भइरहेको उनले जानकारी दिए। १ सय ६० किलोमिटर लामो बीपी राजमार्गको धुलिखेल–सिन्धुली–बर्दिबास सडक खण्डको विभिन्न ठाउँमा बाढी र पहिरोले क्षति पु¥याएको छ।

धुलिखेलदेखि खुर्कोट खण्डको १२ किमि मध्ये ५ ठाउँमा रोशीको बाढीले कालोपत्रसहितको सडकमा पूर्ण क्षति गरेको छ। काभ्रेको चौकीडाँडामा करिब आधा किलोमिटर सडक रोशीको बाढीले खसालेको छ। यहाँ अस्थायी संरचना निर्माण गरेर २ दिनभित्र यातायात सञ्चालन गर्ने तयारी छ।

रोशी गाउँपालिकाको कालढुंगा र बोक्सीकुना भन्ने ठाउँमा २ सय मिटरभन्दा बढी र थली बेंसीमा पनि रोशी खोलाले २ सय मिटर र नार्के पुलनजिक २ सय मिटरको हाराहारीमा सडक पूर्ण रूपमा क्षति भएको छ।

रोशी खोला, सुनकोशीको बाढी तथा पहिरोले क्षतविक्षत भएको यो खण्डअन्तर्गत खुर्कोट–नेपालथोकको ३४ किलोमिटरमा पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ। सुनकोशीले कटान गरेको ठाउँमा डाइभर्सन बनाइएको छ।

सुनकोशी–१ को नेपालथोकबाट बिहीबार मध्याह्नपछि आँपघारी सडक खुलेको छ। नेपालथोक–आँपघारीबीचको बान्द्रेओडारमा रोशी खोलाको बाढीले २ सय मिटर सडक बगाएको थियो। खुर्कोटबाट नेपालथोक हुँदै बालुवासम्मको ३७ किमि धुलिखेलबाट भकुन्डेबेंसी हुँदै चौकीडाँडासम्मको करिब ३५ किलोमिटर गरी ७२ किमि सञ्चालनमा आएको छ।

मंगलटार र चौकीडाँडाबीचको सडक अस्थायी रूपमा सञ्चालनमा ल्याउन सेनासमेत परिचालन गरिएको छ। हाल बीपी राजमार्गको धुलिखेल, सिन्धुली बर्दिबास सडकको तीन खण्ड सञ्चालनमा छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट