सीके राउतकी पत्निको अदालत समक्ष अपिलः मेरो पतिको मानसिक स्वास्थ्य जाँचको आदेश पाउँ

काठमाडौँ– जनमत पार्टीका अध्यक्ष सीके राउतकी पत्नी सोनी सिन्धु रानीले सम्बन्धविच्छेदसम्बन्धी मुद्दामा पतिको मानसिक स्वास्थ्य जाँचको मागसहित अदालतसमक्ष प्रतिउत्तर पेश गरेकी छन्।

ललितपुर जिल्ला अदालतमा राउतले दायर गरेको सम्बन्धविच्छेद मुद्दामा उनले बुधबार प्रतिउत्तर पेश गरेकी हुन्। उनले आफनो मानसिक अवस्था ठीक रहे पनि फिराद पत्रमा अनावश्यक आरोप लगाइएको प्रति गुनासो गर्दै विपक्षी (सीके राउत) को मानसिक अवस्था जाँच गर्न निवेदन गरेकी छिन्।

‘मलाई पेट दुख्ने, टाउको दुख्नेलगायत अन्य स्वास्थ्य समस्या भएका बेला डिप्रेसनको औषधि खाऊ भनी दिनेजस्ता अस्वाभाविक कार्यहरू गर्नुभएका र मलाई सधैं दुःख दिने नियत मात्र राखेकाले विपक्षीको नै मानसिक समस्या छ जस्तो देखिन्छ। निज विपक्षीको मानसिक अवस्था जाँच गरी पाउने आदेशका लागि सम्मानित अदालतसमक्ष निवेदन गर्दछु,’–सोनीले प्रतिउत्तरमा लेखेकी छिन्।

आफूलाई डिप्रेसन नभए पनि उपचार गराउने बहानामा डिप्रेसनको औषधि खुवाउने गरिएको उनको आरोप छ। ‘पटनाको पारस अस्पतालमा मेरो उपचार गराउने बहानामा तिमीलाई डिप्रेसन छ भन्दै डिप्रेसनको औषधि खुवाउनु भयो। त्यसपछि पुनः पटना घुम्न भनेर मुम्बई लगी त्यहाँ पनि डिप्रेसनको औषधि खुवाउन लगाउनुभयो। डिप्रेसन नभएपनि डिप्रेसनको औषधि खाँदा मलाई स्वास्थ्यमा समस्या हुँदै गयो’ भन्दै उनले प्रतिउत्तरमा उल्लेख गरेकी छिन्। हाल उक्त औषधि खान छाडेपछि आराम भएको महसुस गरेको उनले अदालतलाई जानकारी गराएकी छिन्।

फिराद पत्रमा अमेरिकामा हुँदा देखि नै पतिबाट आफुले यातना भोगेको उनले खुलाएकी छिन्। अमेरिकाबाट फर्केपछि राजविराज वसाईका क्रममा पति, सासूससुरा र नन्दले नियमित घरेलु हिंसा, मानसिक यातना, शारीरिक यातना दिने गरेको पनि उनले उल्लेख गरेकी छिन्।

‘दाम्पत्य सम्बन्धको परिभाषा नाघेर विपक्षी पतिले ममाथि ज्यादती गर्नुभएको छ। मसँग दिनरात निहुँ खोजी कुटपिट र झगडा गर्ने काम गर्नुभएको छ। सधैं तिमी बुहारी मान्छे हो, बुहारीको सीमाभित्र बस्नुपर्छ, मैले जे भन्छु, त्यो मान्नैपर्छ भनी अति नै दबाबमा राख्ने गर्नुहुन्थ्यो।’ प्रतिउत्तरमा भनिएिको छ।

सासूससुरा र नन्द मिलेर मलाई ‘यो कामचोर ठग हो, घरको केही काम गर्दिन, बिरामी भएको नाटक गर्छे’ भन्नेजस्ता शब्दहरू प्रयोग गरेर मानसिक यातना दिएको उनको गुनासो छ। पतिले पनि विभिन्न गालीगलोज गर्ने, वचन लगाउने, कुटपिट गर्नेजस्तो व्यवहार देखाएपछि घरका सबै सदस्यले मलाई होच्याउने, विभिन्न अपशब्द बोली मानसिक र शारीरिक याताना दिने गर्न थाले रानीले प्रतिउत्तरमा उल्लेख गरेकी छिन्।

सुरक्षाका लागि राष्ट्रिय मानव अधिकार आयोग र भारतीय राजदूतावासमा समेत आफुले गुहार मागेको तर कहीँ कतैबाट सुरक्षाको ग्यारेन्टी नपाएको उनले उल्लेख गरेकी छन्। यातनाले सीमा पार गरेको र सधैं घरमा काम गर्ने नोकरको रूपमा हेर्ने र सोहीबमोजिमको व्यवहार गरेपछि आजित भएर पहिले आफुले डिभोर्सको कुरा उठाए पनि अव डिभोर्स नचाहेकाले फिराद बदर गर्न उनले अदालत समक्ष माग गरेकी छिन्।

‘विपक्षीले मलाई एउटा कामदारभन्दा पनि तल्लो दर्जामा राख्नुभएको र मलाई गरेका व्यवहारका कुराहरू सबै लुकाई मसँग सम्बन्धविच्छेद गर्न चाहनुभएकाले उक्त सम्वन्धविच्छेद गर्न मेरो सहमति नभएको कुरा सम्मानित अदालतसमक्ष जाहेर गर्न चाहन्छु’ उनले भनेकी छिन्–‘बच्चाहरू तथा विवाहित पत्नीप्रति एक पिता र पतिले गर्नुपर्ने दायित्व पूरा गर्नबाट पछि हट्दै सम्बन्धविच्छेदको फिराद दायर गर्नु आफैंमा अन्यायपूर्ण कार्य भएकाले उक्त फिराद बदरभागी छ ।’

परिवारसँग अंशवण्डा नभई सगोलमा नै रहेको र आफूबाट लुकाएर परिवारका अन्य सदस्यका नाममा राखेको सम्पूर्ण सम्पत्तिबाट बच्चाहरूसँगै खाने, लाउने, बस्ने, उपचार गर्ने व्यवस्था मिलाइदिन उनले माग गरेकी छन्। यो सवै घट्ना पतिका दाजु जयकान्त राउत र भाउजु उषा राउतको उक्साहटमा भएको आरोप समेत रानीले लगाएकी छिन्।

हेर्नुहोस अदालतसमक्ष पेश भएको प्रतिउत्तर


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट