बीपी राजमार्ग २ दिनभित्र सञ्चालमा ल्याउने गरी निर्माण सुरु, खोलामै वन्दैछ अस्थायी संरचना
काठमाडौँ– रोशी खोलाको बाढीले काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका र रोशी गाउँपालिकाको सीमा क्षेत्र चौकीडाँडामा बगाएको बिपी राजमार्गको २ सय मिटर सडक २ दिनभित्र सञ्चालमा ल्याउने तयारी भएको छ।
खोलाको बहावलाई सोझ्याएर सडक बगाएकै स्थानमा अस्थायी रुपमा यातायात सञ्चालन गर्ने गरी संरचना निर्माण गर्न थालिएको सडक डिभिजन कार्यालय भक्तपुरले जनाएको छ। त्यसका लागि आवश्यक जनशक्ति र उपकरण परिचालन गरिएको सडक डिभिजन प्रमुख सिनियर डिभिजनल इन्जिनियर सुमन योगेशले बताए।
रोशी खोलाले साविक सडक भएको स्थानदेखि करिब २० देखि ५० मिटर उचाईबाट कटान गरेको छ। डिभिजन कार्यालयका अनुसार बगेको सडकमाथि ठूलो पहाड रहेकाले माथिल्लो स्थानतर्फ सडक डाइभर्ट गर्न असम्भव छ। त्यसैले सडक बगेकै स्थानमा संरचना तयार गर्नु पर्ने अवस्था छ।
रोशीले सबैभन्दा बढी क्षति गरेको १ नम्बर पुलदेखि नेपालथोकसम्मको मर्मत कार्य सडक डिभिजन कार्यालयले मङ्गलबारदेखि सुरु गरेको छ। पहिरोका कारण अवरुद्ध उक्त राजमार्गको धुलिखेल–भकुण्डेबेँसी सडक भने गत सोमबारदेखि नै एकतर्फी सञ्चालनमा आईसकेको छ।
भकुण्डेदेखि नेपालथोकसम्मको २९ किमि क्षेत्रमा करिब २ किलोमिटर सडक बाढीले पूर्ण रुपमा बगाएको अनुमान छ। खण्ड–खण्ड गरी निर्माण गरिएको १६० किलोमिटर सडक मध्ये तेस्रो खण्ड (सिन्धुलीको खुर्कोटदेखि नेपालथोकसम्म) ३४ किमी र चौथोखण्ड (नेपालथोकदेखि धुलिखेलसम्म) ५० किमी गरी ८४ किमी सडकको विभिन्न स्थानमा बाढीले क्षति पुगेको कार्यालयले जनाएको छ।
बिपी राजमार्गको भकुण्डे–नेपालथोक सडकको १४ स्थानमा करिब १ हजार ९ सय मिटर सडक अवरुद्ध भएको प्रहरीको रिपोर्टमा उल्लेख छ। नेपालथोक–खुर्कोट सडक भने सोमबारदेखि सञ्चालनमा आईसकेको छ।
जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा आव ०५३÷०५४ देखि बिपी राजमार्ग (धुलिखेल–सिन्धुली–बर्दिबास सडक) निर्माण सुरु गरिएको थियो। त्यसताका प्रतिकिलोमिटर ३५ करोड (हालको मूल्याङ्कन अनुसार प्रतिकिलोमिटर ५० करोडभन्दा माथि) को लागतमा निर्माण सुरु भएको यो सडक ०७२ मा सम्पन्न भएको थियो।
तत्कालीन अवस्थामा जापान सरकारको २६ ‘बिलियन’ जापानी येन र नेपाल सरकारको एक दशमलव एक बिलियन (जापानी येन) को लागतमा उक्त राजमार्ग निर्माण भएको थियो।