सप्तकोशीको पुलमा २४ घण्टापछि गाडी गुड्न थाले
राजविराज– वाढीले खतराको तह पार गरेपछि सप्तकोशी नदीको कोशी ब्यारेज पुलमा अनिश्चितकालका रोकिएको यातायात २४ घण्टापछि खुलेको छ। शनिवार साँझ ४ बजेदेखि पुलमा यातायातका साधन तथा पैदल यात्रुलाई समेत रोकिएको थियो।
आइतबार साँझ साढे ५ बजेबाट आवतजावत सम्पुर्ण रुपमा यातायात सञ्चालनका लागि खुला गरिएको सप्तरीका सीडीओ मेखबहादुर मंग्रातीले जानकारी दिए। खतराको सबै संकेत पार गरिसकेको कोशी नदीमा पछिलो समय पानीको बहाव घटेको छ।
आइतबार बिहानसम्म साढे ६ लाख क्युसेकभन्दा वढि बहाव मापन गरिएको कोशी ब्यारेजमा पछिल्लो अपडेट अनुसार ३ लाख ५० हजार ३७० क्युसेक मात्रै छ। उच्च बहावका कारण शनिवार विहान ८ वजेदेखि नै कोशी ब्यारेजका ५६ वटै ढोका खोलिएका छन्।
सप्तकोशी नदीमा आईतबार विहान ७ बजे पानीको बहाव ५६ वर्षयताकै उच्च मापन गरिएको थियो। बिहान ७ बजेको मापन अनुसार कोशी ब्यारेजमा वाढीको वहाव ६ लाख ६१ हजार ५ क्युसेक थियो।
यसअघि कोशी ब्यारेजमा सन् १९६८ अक्टोबर ५ तारिखका दिन ७ लाख ८८ हजार २ सय क्युसेक वहाव मापन गरिएको थियो।