के बन्छौ बाबू ? -हली  

सबै बच्चाहरूको बाल्यकाल आआफ्नै सपनाको हुन्छ, योजनाको हुन्छ । मैले पनि ठूला सपनाहरू देखेको थिएँ । ती सपना पूरा नभएकोमा अहिले विस्मात लाग्छ, रमाइलो पनि लाग्छ । हाम्रो बालापनले हामीलाइृ डाक्टर, प्रहरी, इन्जिनियर, प्राध्यापक वा केही चिन्न सुन्न पाएको होइन ।

कुरो कहाँको भन्ने लागिरहेको हो भने कुरो हाम्रै गाउँठाउँको हो । उदयपुरको हो । तत्कालीन तावाश्रीको हो । थाक्लेको हो । कटारीबाट करीब २० किमी उत्तर र गाईघाटदेखि ४० किमी पश्चिममा रहेको यो भूमि तपाईँका नजरमा सुगम लाग्न पनि सक्छ । मलाई भने देशकै विकट ठाउँहरूमध्ये एक यो पनि हो भन्ने लाग्छ । किन भन्ने प्रश्नहरूको समाधान बिस्तारो गर्दै जाउँला । शीर्षकबारे यतिञ्जेल निरपेक्ष बन्ने व्यक्ति लेखक हुन सक्तैन । अझ निबन्धकारले त परिचयबाट कुराको चुरो आरम्भ गर्नुपथ्र्यो, तपाईँलाई झिँजो लागिसक्यो भने एकछिन धैर्य गर्नुहोस् ।

बा’ले चैते दमाईलाई हली राख्नुभएको थियो । जम्माजम्मी चार हलको मेलो पाखो बारी जायजेथा भएका हामी खेती सुरु भएको पहिलो साता नै फुर्सदिला बनिसक्थ्यौँ । अर्को चार हलको मेलो चैते दमाईले आफ्नामा जोतिसक्ता हाम्रा गोरु खाली हुन्थे । गोरु चैते दाइले नै पालेका थिए । अर्मपर्म खासै धेरै हुन्नथ्यो । थाहै नदिई अन्यत्र बनीमा जोत्न लगेको निहुँमा चैते दमाईको ‘हलिया पेसो’ खोसियो । सायद सातदेखि आठ वर्षको थिएँ म । ममा ठूलो आशा पलायो । “बा’ आफू हलो नजोत्ने, म हुर्किइहालेँ । अब हली नराख्ने । यति जाबो मेलो मै उतारिहाल्छु ।” मैले धेरैपटक साथीहरूलाई हाँक दिइसकेको थिएँ ।

वेलावेला झारफुक पनि गर्ने गरेका खुइँटे दाइले कोदो रोपेर खेती उतार्ने शर्तमा नयाँ हलीको नियुक्ति लिए । बा’ले अझै मलाई किन सानै सम्झिनुयो, मलाई चिन्तित बनायो । आठै वर्षको केटो भए पनि घाँस, दाउरा, गोठालादेखि सबै काममा सीमितता भने थिएन । बाप्रति गुनासो लागिरह्यो । अझै हुर्किन आफूले बाँकी नै रहेको निष्कर्षमा पुगेर खुइँटे दाइ आउँदा गोरुलाई अघाएर ठीक्क पारिदिन क्रम निरन्तर रह्यो ।

खुइँटे दाइको एउटा बानी राम्रो थियो– उनी बिँडी खान्थे । यसो गोरु बिसाएर शीतलमा बसेर धुँवा उडाइरहँदा म भने गोरुलाई उडाइहाल्थेँ । ‘कान्छा मुखियाले तपाईँलाई जोत्न नदिनू भन्नुभएको छ । गानो खुस्किएला बाहुन नानी ! अझ गोरुलाई फाली लाग्छ । खेतीको याममा गोरु बिसाउनपरे के खान्छौ ?’ उनका मलाई यस्ता वाक्यले पीडा दिन्थे । अटेर गरेरै एकाध क्षण जोत्तथेँ ।

जोत्न नपाई आफ्ना गोरुको गुणदोष थाहा पाइँदैन । गोरुको सामथ्र्य साथीभाइलाई सुनाउन र उनीहरूका भन्दा आफ्ना गोरु गतिला बनाउन पनि जोत्नै पर्दथ्यो । बा’को सिद्धान्त छोरो सानो भएर भन्दा पनि बाहुनको छोराले जोत्नहुँदैन भन्नेमा बढी केन्द्रित थियो । बा’लाई नभनिदिए भोलिको बिँडी आफूले किनेर ल्याइदिने सल्लाहमा खुइँटे दाइले जोत्न त दिन्थे तर उनमा पनि ‘मुखिया’को डर थियो । निकै साल मेरा लागि मेरा गोरु बिराना भइरहे । म गोरुको असली हेरविचार गरेर पनि जोत्नबाट वञ्चित भइरहेँ । मैले जोत्ता छेउकुना छोडिने र राँटो बस्ने हुन्थ्यो, त्यति बाउसेले मेलो बनाउँला भइहाल्थ्यो नि भन्ने लाग्थ्यो । रातोदिन गोठालो गरेको गोरु जोत्नुमा आत्मीयता छ । खुइँटे दाइको चुटाइले रन्थनिएका गोरुको गुनासो सुनिरहनुको विकल्प नै थिएन । मेरा गोरुमा मेरै हक छैन भन्ने कुराले विक्षिप्त बन्थेँ ।

हाम्रा अर्का असली छिमेकी थिए, ‘खतिवडा साहिँला ।’ उनलाई असल भन्नुका पछि केही कुरा यहाँहरूलाई सुनाउनै पर्छ । उनी थिए हाम्रा दाँजामा अलि धेरै जग्गा भएका जमिनदार, तर एक नम्बरका अल्छी । खुइँटे दाइलाई खाजाभात खुवाइसकेपछि मचाहिँ लाग्थे उनका मेलातिर, उनी सहर्ष अनौ र गोरु चुट्ने लाठी दिएर मेरो सत्कार गर्दथे । साउन–भदौको झरी होस् या घाममा मलाई आफ्नोमा जोत्न नपाएको बाहेक केही गुनासो र गर्मी थिएन । उनी खाना खाएर आउन्जेल मैले नै उनलाई पालो दिन्थेँ । उनका आधा मेलामा मेरै कलिला पसिनाका गन्ध हुन्थे । साहिँला काकाका छोराहरू सानै थिए । उनीहरू बा’लाई सघाउने भइसकेका थिएनन् । म बा’लाई सबै कुरामा सघाउनसक्ने भइसकेर पनि अयोग्य थिए । जोत्न कति रहर लागेको ? साहिँला काका मलाई सोध्ने गर्थे, ‘पछि के बन्छौ ?’

हली बन्ने मेरो रहर त पूरा भएको थिएन, मैले अन्य सपना बुन्न सकेकै थिइनँ । म सहर्ष उत्तर दिन्थेँ, ‘हली’ । हली मेरा लागि आदर्श हुनुका थुप्रै कारणहरू थिए । हली अन्नदाता हो, सेवक हो । हली गाउँलेहरूको सारथि हो । हलीले मात्र गाउँका सबैका गोरु जोताइको स्वाद जानेको हुन्छ । अरूका सिङजुरे गोरुबारे खिसिट्युरी गर्नेहरू हलीभन्दा सही होइनन् । हलीले देखाएको गुणदोषमात्र गोरुका योग्यताभित्र पर्छन्, इत्यादि । गाउँमा सवारीका नाममा हलो गुडेको मात्र देखेको बालखले अनौ समाएर ‘हह तारे हह हह माले हह’ मा नै रोमाञ्चकता देखेको हुन्छ । दाँदे, पटाहामा चढेर निमेषभरमा पल्लो कुन्ना र वल्लो कुना पुगाइमा बुलेट ट्रेन नै फेल खान्छ ।

गाउँ छाड्दा मेरा धेरै सुखहरू छाडिए । सिँदूरे र कलुवालाई बहरमा मैले नै हुर्काएर दाएको थिएँ । सिँदूरे दँतिएको थियो । कलुवाको वेला हुँदैथियो । सिँदूरे र कलुवा अझै सपनामा आएर मलाई झस्काइरहन्छन् । मैले अनकन्टार गाउँमा भविष्य भनेकै गोरु र हलो देखेको थिएँ । गोरुबारे मलाई अझै थुप्रै गुनासाहरू छन्, मैले अरूको जस्तो हली हुनु दुःख हो भन्ने अनुभूतिको चरम सीमामा पुग्न पाइनँ । आफूले खाने अन्न आफैँ फलाउने ध्याउन्न संसारभरका कुनै कामका तुलनामा दुःख होइन । आफ्नै पसिना आफ्नै स्वाद, क्या मज्जा । बढ्दो व्यावहारिक झञ्झा र शहरको विरक्तिले तन्द्रामा कहिलेकाहीँ प्रश्न गर्छन्, ‘के बन्छौ बाबू?’ म अझै सहज उत्तरिन्छु, ‘हली ।’


प्रतिक्रिया

One thought on “के बन्छौ बाबू ? -हली  

  1. क्लीस्ट।राम्रो।अझै पढ्ने रहर हुँदाहुँदै सकियो।
    अरु आओस् लेखक।
    शुभकामना ।।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट