७ वर्षीय बालकलाई बलि दिने विद्यालयका निर्देशक र शिक्षकसहित ५ जना पक्राउ

काठमाण्डौं– भारतको लखनउमा ७ वर्षीय बालकलाई बलि दिएको घट्नामा ५ जना पक्राउ परेका छन्। एउटा विद्यालयमा सौभाग्य ल्याउने भन्दै गरिएको अनुष्ठानमा बलिका नाममा ७ वर्षीय बालकको हत्या गरेको आरोपमा शुक्रबार उनीहरुलाई पक्राउ गरिएको हो।

ताजमहल नजिकैको हाथरस सहरमा रहेको छात्रावासमा आफ्नै ओछ्यानमा पीडित बालकलाई आइतबार राति मृत फेला पारिएको थियो। विद्यालयका निर्देशक दिनेश बघेलले प्रहरीलाई खबर गर्नुको सट्टा बालकको शवलाई आफ्नो कारको डिक्कीमा लुकाएर राखेका थिए।

बघेलका पिताले आयोजना गरेको कालो जादु (तान्त्रिक विधि) समारोहअघि नै बालकको हत्या गरिएको प्रहरीले जनाएको छ। ‘बालकलाई अनुष्ठानको हिस्साका रूपमा वेदीमा लैजाने योजना थियो तर समारोह पूरा हुनुभन्दा अघिनै उनलाई मारियो’– प्रहरीले भनेको छ।

बालकको हत्या आरोपमा बघेल र उनका पितासहित विद्यालयका अन्य तीन शिक्षक पक्राउ परेका छन्। भारतको राष्ट्रिय अपराध रेकर्ड ब्युरोका अनुसार सन् २०१४ देखि सन् २०२१ को बीचमा मुलुकभर एक सय तीन वटा मानव बलिका घटना दर्ता भएका छन्।

अनुष्ठानमा गरिने हत्याहरू सामान्यतया देवताहरूलाई प्रसन्न पार्न गरिन्छ। बोक्सी र गुप्त विद्यामा विश्वास व्यापक भएको आदिवासी तथा दुर्गम क्षेत्रहरूमा मानव बलि बढी प्रचलित छ। गत वर्ष प्रहरीले सन् २०१९ मा ६४ वर्षीया महिलाको हत्याको आरोपमा पाँच जनालाई पक्राउ गरेको थियो।

ती महिलाको भारतको सुदूर उत्तरपूर्वी क्षेत्रमा एक मन्दिरमा गएपछि हत्या गरिएको थियो र टाउको छिनालिएको थियो। प्रहरीका अनुसार आरोपित मुख्य व्यक्तिले आफ्नो भाइको मृत्युको वार्षिकोत्सव मनाउन धार्मिक अनुष्ठान गरिरहेको थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट