गोरखा मिडियामा रविको रजगजः १८ महिनामै बुझेका थिए १ करोड ४ लाख तलव

काठमाण्डौं– रास्वपाका सभापति रवि लामिछाने गोर्खा मिडिया प्रालिको सञ्चालक तथा प्रबन्ध निर्देशक हुँदा १८ महिनामै १ करोडभन्दा बढी तलब बुझेको पाइएको छ।

सहकारी ठगीबारे छानबिनका लागि गठन भएको संसदीय समितिको प्रतिवेदनमा उनको तलवको विषय समेत उल्लेख छ। शुक्रबार सार्वजनिक भएको उक्त प्रतिवेदनमा लामिछानेले १ करोड ४ लाख ३६ हजार रुपैयाँ तलबका रुपमा बुझेको उल्लेख छ।

बयानका क्रममा लामिछानेले गोरखा मिडिया नेटवर्कमा प्रबन्ध निर्देशकको हैसियतले पारिश्रमिकबापत मासिक ५ लाख लिएको बयान दिएका छन्। उनले वयानमाा भनेका थिए– ‘पारिश्रमिक बापत मैले मासिक ५ लाख रुपैयाँ लिएको थिएँ। मैले एडभान्स ७५ लाख पनि लिएको थिएँ।’

गोरखा मिडियाका अध्यक्ष जीबी राईले भने एक आर्थिक वर्षमा (आव ०७८÷७९) तलब बापत ३० लाख रुपैयाँ बुझेको प्रतिवेदनमा उल्लेख गरिएको छ।

ग्यालेक्सी टेलिभिजन सञ्चालनका लागि विभिन्न सहकारीबाट ६५ करोड ५४ लाख ४ हजार ५३८ रुपैयाँ गोर्खा मिडिया नेटवर्क प्रालिको खातामा जम्मा भएको देखिन्छ। त्यो रकम मध्ये २२ करोड ४६ लाख ३० हजार रुपैयाँ सूर्यदर्शन, सुप्रिम, सानो पाइला, स्वर्णलक्ष्मी, समानता, सहारा सहकारीबाट जम्मा भएको समितिले जनाएको छ। यस्तै, ४३ करोड ७ लाख ७४ हजार ५३८ रुपैयाँ विभिन्न व्यक्तिका नाममा ऋण देखाइ रकम गोर्खा मिडियामा जम्मा गरी जीबी राईको नाममा ऋण कायम गरिएको समितिले प्रतिवेदनमा उल्लेख गरेको छ।

गोर्खा मिडियाामा जम्मा भएको रकममध्ये १२ करोड गोर्खा मिडिया नेटवर्क प्रालिको सेयर पुँजीबापत जम्मा गरिएको, ८ करोड २० लाख ९१ हजार ६४३ रुपैयाँ जीबी राई स्वयंले प्रयोग गरेको पनि प्रतिवेदनमा उल्लेख छ।

पछि रवि लामिछानेसमेतले गोर्खा मिडिया छोडेपछि गोर्खा मिडियाको सञ्चालकको रूपमा भित्रिएको जीबी ग्रुप अफ कम्पनीजले ३० असार ०७९ मा सुप्रिम बचत तथा ऋण सहकारी संस्थाबाट २ करोड ऋण लिइ गोर्खा मिडिया नेटवर्क प्रालिलाई ३१ असारमा २० लाखको ऋण प्रवाह गरेको प्रतिवेदनमा जनाईएको छ।

गोरखा मिडियामा जम्मा भएको रकम लामिछानेले नै धमाधम चेक काटेर खर्च गरेका थिए। समितिले जम्मा गरेकामध्ये धेरैजसो चेक लामिछानेको एकल हस्ताक्षरबाट साटिएका थिए। तर, लामिछानेले भने सहकारीबाट गैरकानूनी ऋण प्रवाहमा आफ्नो कुनै संलग्नता नभएको बयान दिएका छन्।

लामिछानेले आफूले सहकारी संस्थालाई हानी नोक्सानी पुर्याउने कुनै काम नगरेको र आफ्नो पेटमा सहकारीको एक रुपैयाँ पनि नपरेको उल्लेख गरेका छन्। ‘मैले सहकारी संस्थालाई हानी नोक्सानी पु¥याउने कुनै काम गरेको छैन, मेरो पेटमा सहकारीको एक रुपैयाँ परेको पनि छैन,’ बयानमा उनले भनेका छन्।

उनले आफू टिभीमा सञ्चालक समितिमा रहँदा सञ्चालक समितिको कुनै बैठकले सहकारीबाट ऋण लिने विषयमा निरणय नगरेको र आफूले सहकारीबाट एक पैसा पनि नलिएको भन्दै उनले आफू निर्दोष रहेको जिकिर गरेका छन् ।

उनले आफूले समाचार पक्षको जिम्मेवारी हेर्नेगरी ग्यालेक्सी टीभीमा काम गरेको भन्दै आर्थिक पाटो थाहा नभएको बताएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट