रक्सीको विवादपछि खोलामा धकेलेर महिलाको हत्या गरेको आरोपमा भगौडा सैनिक पक्राउ

काठमाण्डौं– सिन्धुपाल्चोकको बलेफी गाउँपालिकाकी एक जना महिलालाई खोलामा धकेलेर हत्या गरेको आरोपमा प्रहरीले गुल्मीका एक जना भगौडा सैनिकलाई पक्राउ गरेको छ।

बलेफी गाउँपालिका–१ मेलडाँडाकी ५७ वर्षीय धनमाया श्रेष्ठको हत्या गरेको आरोपमा गुल्मीको कालीगण्डकी गाउँपालिका–४ का ३७ वर्षीय रनबहादुर गाहा पक्राउ परेका हुन। रनबहादुर बलेफी गाउँपालिका–१ स्थित तल्लो बलेफी हाइड्रोपावरमा मजदुरीको काम गर्छन।

०६१ सालमा नेपाली सेनामा भर्ना भएका उनी करिब साढे दुई वर्ष भागेका थिए। २५ भदौको साँझदेखि वेपत्ता भएकी धनमायाँको शव फेला परेपछि अनुशन्धानका क्रममा गाहालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी निरन्जन भट्टराईले बताए।

आमा बेपत्ता भएको भन्दै उनकी छोरीले इलाका प्रहरी कार्यालय गोल्छे यलम्बु जलविरेमा खोजतलासका लागि निवेदन गरेकी थिईन। खोजी गर्ने क्रममा बाटोमा फेला परेका पोतेका दाना पछ्याउँदै जाँदा २६ भदौको दिउँसो सुनकोशी गाउँपालिका–२ सादीपाखोमा महिलाको शव फेला परेको थियो। शव आइतबारमात्रै मृतकका परिवारले सनाखत गरेका छन्।

घटना शंकास्पद देखिएपछि प्रहरीले नजिकै काम गर्ने रनबहादुरलाई सोधपुछको लागि नियन्त्रणमा लिएको थियो। सोधपुछका क्रममा उनले नै घटनाबारे खुलाएका छन्। प्रहरीका अनुसार २५ भदौको साँझ धनमायाको घरमा मृतक, रनबहादुर र मृतकका जेठो छोरा कमलदास मदिरा सेवन गरेर बसेका थिए।

मदिरा अपुग भएपछि रनबहादुर मदिरा लिन गए। फर्किदा कमलदास आफ्नो घर गईसकेका थिए। त्यसपछि रनबहादुर र धनमायाको विवाद भयो। विवाद भएपछि धनमाया घरबाट बाहिर निस्किईन। रनबहादुरले उनलाई तान्न खोज्दा घाँटीमा लगाएको माला र पोते चुँडिएको थियो।

त्यसपछि धनमायाँ त्यहाँबाट भागेको र लखेट्दै जाँदा ब्रम्हायणी खोलाको डिलमा भेटेर हुत्याई दिएको उनले बयान दिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट