श्रीमतीलाई न्याय गर्न नसकेको आरोप लागेका ‘श्रीमान’ प्रधानन्यायाधीशमा सिफारिस !

काठमाण्डौं– सर्वोच्च अदालतका वरिष्ठतम् न्यायाधीश प्रकाशमानसिंह राउत संवैधानिक परिषद्बाट प्रधानन्यायाधीशमा सिफारिस भएका छन्।

प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशका लागि राउतको नाम सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिबाट अनुमोदन भए उनी सर्वोच्च अदालतका ३२औं प्रधानन्यायाधीश हुनेछन्।

न्याय परिषद्ले सर्वोच्च अदालतका ८ जना न्यायाधीशको नाम प्रधानन्यायाधीश बन्न योग्य रहेको जानकारी संवैधानिक परिषद्लाई गराएको थियो। परिषद्ले वरिष्ठताका आधारमा राउतको नाम सिफारिस गरेको हो। संसदीय सुनुवाइ समितिले अनुमोदन गरेपछि राष्ट्रपतिबाट प्रधानन्यायाधीश नियुक्त हुने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आगामी २० असोजमा अनिवार्य अवकाशमा जाँदैछन्। त्यसपछि राउतले प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने छन्। १८ चैत ०८२ सम्म कार्यभार सम्हाल्ने राउत ८ वर्षअघि न्यायाधीशमा नियुक्त भएका थिए।

०७३ सालसम्म वरिष्ठ अधिवक्ताका हैसियतमा रहेका उनी सर्वोच्च अदालत बार एसोसिएसनको अध्यक्षसमेत भएका थिए। उदयपुरको कटारीमा जन्मिएका राउतले नेपाल ल क्याम्पसबाट कानुनमा स्नातक गरेका छन्।

यता, संवैधानिक परिषद्ले उनको नाम सिफारिस गरेपनि संसदीय सुनुवाई समितिले उनलाई पारिवारीक समस्याको विषयलाई उठाएर र्‍याखर्‍याखी पार्न सक्ने सम्भावना छन्। उनकी श्रीमती करिव ५० वर्षीय ललिता राउत चौहानले आफुमाथि पतिले अन्याय गरेको आरोप लगाउँदै आएकी छिन्।

ललिताका अनुसार प्रकाशमानसिंह र उनीबीच १४ वर्ष उमेरको अन्तर छ। उनीहरुको जायजन्म भएको छैन। श्रीमानले घरमा समय नदिएको, शारीरिक सम्वन्ध नराखेको र वच्चा जन्माउने कुरामा वेवास्ता गरेको उनको आरोप थियो। श्रीमानबाट वच्चा नजन्मिएपछि आफूले धर्मपुत्र राख्न चाहेको र श्रीमानले पनि पहिला समर्थन जनाएर पछि अस्वीकार गरेको उनको भनाई थियो।

यही विषयमा प्रकाशमानले श्रीमती ललितालाई पक्राउ समेत गराएका थिए। उनले दाजुभाउजुको बच्चा एडप्ट गर्न खोजेकी थिईन। तर, श्रीमानले उनलाई दस्तखत किर्ते गरेको आरोपमा पक्राउ गराएपछि यो विषय चर्चामा आयो। ललिता २२ दिनसम्म इलाका प्रहरी कार्यालय कटारीको हिरासतमा वसेकी थिईन।

प्रकाशमान र ललिताको ०६१ सालमा बिवाह भएको थियो। सुरुमा आफूले सम्बन्ध विच्छेद चाहँदा श्रीमानले नदिएको र अहिले श्रीमानबाट आफूमाथि सम्बन्ध विच्छेदका लागि दबाव आएको ०७५ सालमै उनले बताएकी थिईन।

श्रीमानले आफूलाई घरमा बस्न र खान लाउन नदिएको आरोपसमेत लगाएकी थिईन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट