अदालतबाट रिहा भएपछि पीडितलाई बलात्कार आरोपीको धम्कीः बलात्कार भनेको अब देखाउँछु

काठमाण्डौं– बलात्कार मुद्दामा उच्च अदालत पाटनको आदेशले धरौटीमा छुटेका एक आरोपितले ‘न्यायाधीशलाई १० लाखमा किनेर छुटेको’ भन्दै पीडितलाई धम्क्याउन थालेका छन्।

नयाँ बानेश्वरमा एक किशोरीलाई बलात्कार गरेको आरोपमा जिल्ला अदालत काठमाण्डौंले पुर्पक्षका लागि थुनामा पठाएका भक्तपुका दीपेश बस्नेतले उच्चको आदेशबाट छुटे लगत्तै यसरी पीडितलाई धम्की दिन थालेका हुन।

बस्नेतले पीडित किशोरीलाई मोबाइलमा म्यासेज पठाएर न्यायाधीश किनेर जेल मुक्त भएको वताएका छन्। पीडित किशोरीले धम्कीको स्क्रिनसर्ट फेसबूकमार्फत सार्वजनिक गरेकी छिन्। त्यसपछि भने दीपेशको मोवाईल बन्द भएको छ।

वस्नेत विरुद्ध २५ चैत ०८० मा प्रहरी वृत्त बानेश्वरमा बलात्कारको जाहेरी परेको थियो। तत्कालै पक्राउ परेका दीपेशविरुद्ध जिल्ला अदालत काठमाण्डौंमा मुद्दा दर्ता भयो। जिल्ला अदालतले उनलाई पुर्पक्षका लागि थुनामा पठायो। उनी भद्र वन्दीगृह चलान भए।

जिल्लाको आदेशपछि दीपेशका वकिल उच्च अदालत पाटन गए। उच्च अदालतका न्यायाधीश धीरबहादुर चन्दको इजलासले दीपेशलाई प्रमाण नष्ट गर्न नसक्ने र पीडितलाई समेत असुरक्षा नहुने भन्दै १३ असारमा ५ लाख धरौटीमा रिहा गरेको हो। करिव डेढ महिना हिरासत र जेल बसेका वस्नेत रिहा भए।

रिहा भएको एक सातापछि (२१ असार दिउँसो ३ बजेर २२ मिनेटमा) उनले आफ्नो मोबाइल ९८१३७४७८८८ बाट पीडित किशोरीलाई धम्की र गाली गरेर म्यासेज पठाएका छन्। ‘तेरो हाइकोर्ट १० लाखमा किन्दिएँ मैले’ अर्को म्यासेजमा उनले लेखेका छन्–‘मेरो बुढी र म भएर मार्छौँ। मैले तेरो कोर्ट (अदालत) भित्र पारेर सबै बुझिसकेँ बुझिस्।’ त्यसपछि पनि उनले अर्को म्यासेज पठाएर ‘मलाई बयान कसरी दिनुपर्छ थाहा छ, बुझिस्। तँलाई मारेँ भने पनि म निस्कन सक्छु।’ भन्दै धम्क्याएका छन्।

दीपेशले पीडितलाई फेरि बलात्कार गर्ने धम्की दिएका छन्। उनले पठाएको म्यासेजमा लेखिएको छ–‘साँच्चैको बलात्कार कस्तो हुन्छ म देखाउँछु।’ उनले किशोरीलाई मुद्दा फिर्ता लिन दबाब दिएको पीडितको भनाई छ। प्रहरी समेतले आफुलाई पीडकको पक्षमा लागेर दुःख दिएको उनले वताईन। मुद्दा फिर्ता गराउन फर्जी उजुरी दिएर १९ दिनसम्म आफुलाई हिरासतमा राखेको उनको भनाई छ।

अदालतले भने न्यायाधीशलाई पैसा दिएको भन्ने आरोप गलत भएको जनाएको छ। विचाराधीन मुद्दामा त्यो पनि अदालतको मानहानि हुने गरी उजुरीकर्तालाई धम्काउनु गलत भएको अदालतको प्रतिक्रिया छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट