४२ लाखको तेल बोकेको ट्रक त्रिशुलीमा हुत्याएर किन भागे चालक र सहचालक

चितवन– चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा पर्ने सीमलतालबाट खसेको ट्रकका चालक, सहचालक र गाडी धनी अझै सम्पर्कविहिन छन्। प्रहरीको अनुशन्धानमा यो प्रकरण दुर्घटना नभई जानाजान गराइएको घट्ना जस्तो देखिएको छ।

प्रहरीले छानबिन गर्दा ना. ६ ख ६२८३ नम्बरको ट्रक २८ भदौमा भैरहवाको सिद्धार्थनगरस्थित शुभमालिका ट्रेडिङ प्रालिबाट २ हजार २२५ कार्टुन सनफ्लावर तेल बोकेर हिँडेको थियो। ट्रकमा भित्र फेला परेको एसबी १५७–८१÷८२ नम्बरको चलानी अनुसार भ्याटसहित ४२ लाख ५ हजार २५९ रूपैयाँको उक्त तेल ललितपुरको भैरवी कर्पोरेट प्रालिमा पु¥याउनु पर्ने थियो।

तर, २९ भदौको दिनभर सम्पर्कविहिन देखिएको ट्रक ३० भदौको बिहान दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ। चितवन प्रहरीका डीएसपी भेषबहादुर रिजालका अनुसार हालसम्म चालक यमबहादुर घले, सहचालक र गाडी धनी सम्पर्कमा छैनन्। चालकको नम्बर स्वीच अफ छ।

अझ आश्चर्यको विषय ४२ लाख बढीको तेल ट्रकमा लोड भएको देखिए पनि ट्रकमा आधा पनि तेल छैन। डीएसपी रिजालका अनुसार सामान पठाउने र प्राप्त गर्ने व्यक्ति भने सम्पर्कमा आइसकेका छन्।

डीएसपी रिजालले सहचालक र सहचालक सम्पर्कविहिन हुनु र गाडी धनी पनि सम्पर्कमा नआउनुका पछाडि ठुलो षडयन्त्र हुन सक्ने बताएका छन्। यद्यपी चालकको घर पत्ता लागेको र उनलाई सम्पर्कमा ल्याउने प्रयास भईरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट