रवि लामिछाने बाठो पल्टिँदा जीबी राईलाई नेपाल ल्याउन नसकिएको प्रहरीको खुलासा

काठमाण्डौं– सहकारी ठगी मुद्दामा गितेन्द्रबाबु (जीबी) राईलाई समातेर ल्याउन मलेसिया पुगेर पनि रित्तो हात फर्किएको एसपी नेतृत्वको टोलीले गृहमन्त्री रमेश लेखकसामु आफनो असफलताको कथा सुनाएको छ।

मन्त्रालय उच्च स्रोतका अनुसार, केही दिनअघि भएको कुराकानीमा आईजीपी (प्रहरी महानिरीक्षक) वसन्तबहादुर कुँवरसहित मलेसिया गएका एसपीसहितको टोली सहभागि थियो। प्रहरीले पूर्वगृहमन्त्री रवि लामिछानेकै कारण राईलाई फिर्ता ल्याउन समस्या भएको जिकिर गरेको स्रोतले जनाएको छ।

लामिछानेले उपप्रधान एवं गृहमन्त्री हुँदा मलेसियाका गृहमन्त्री सैफुदिन नासुतिन इस्माइलसँग टेलिफोन कुराकानी गरेका थिए। उनले जीबी राईलाई फिर्ता पठाइदिन आग्रह गरेको मन्त्रालयका अधिकारीहरुले सार्वजनिक गरेका थिए। तर, उनीहरुबीच के कुराकानी भयो भन्ने विषय अहिले पनि यकिन जानकारी कसैलाई छैन।

तर, लामिछानेले ठाडै मन्त्री स्तरमा कुरा पुर्याउँदा यो विषय प्रहरीको तहबाट बाहिर पुगेको पाईएको छ। मलेसियाका प्रहरी अधिकारीले नेपाल प्रहरीलाई यही सन्देश दिएर पठाएका छन्। मलेसिया पुगेको नेपाल प्रहरीको टोलीले क्वाललाम्पुरमा अन्तर्राष्ट्रिय अपराध प्रहरी संगठन (इन्टरपोल) को नेशनल कन्ट्रोल ब्यूरो (एनसीबी) का अधिकारीहरुसँग राईबारे कुरा गरेको थियो।

प्रहरी अधिकृतहरुले त्यो विषय आफनो लेभलबाट वाहिर गएको बताएका थिए। ‘मन्त्रीस्तरमा कुरा भइसकेकाले हामीले केही गर्न सक्दैनौं’ भन्दै एनसीबी मलेसियाका अधिकृतले नेपाल प्रहरीलाई जवाफ दिएको स्रोतले जनाएको छ।

मन्त्री तहसम्म नपुगी प्रहरी मात्रैको समन्वयमा उनलाई ल्याउन सकिने सम्भावना भएपनि लामिछानेले गरेको कुराकानीले सवै खेल विगारेको टोलीको निस्कर्ष छ।

मलेसिया पुगेर फर्किएको टोलीले जीबीको नयाँ लोकेशन पत्ता लगाएर फर्केको छ। क्वाललम्पुरको देशापण्डनमा अपार्टमेन्ट नै खरिद गरेर बसेका थिए। त्यसनजिकै उनको सपिङ मार्ट समेत सञ्चालनमा थियो। तर, पछिल्लो समय उनले अपार्टमेन्ट पनि छाडिसकेका छन्। उनी मलेसिया र सिंगापुरको सीमा नजिक एक टापुमा बस्न थालेको सूचना प्रहरीले पाएको छ।

पोखराको सूर्यदर्शन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, वीरगञ्जको सानो पाइला, चितवनको साहारा चितवन र काठमाडौंको हाम्रो नयाँ कृषि सहकारीको वचत रकम ठगी गरेको आरोप राईमाथि छ।

नेपालमा सर्वसाधारणले बचत गरेको १ अर्वभन्दा वढि रकम लिएर राई मलेसियाको सरकारी योजना ‘मलेसिया माई सेकेण्ड होम’ अनुसार क्वालालम्पुरमा नेचर हर्ब इन्टरनेशनल नामक कम्पनी चलाइरहेका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट