कांग्रेसलाई थाहा छैन पूर्वमुख्यमन्त्री केदार कार्कीको आमरण अनशन, एमाले भन्छः नौटंकी

विराटनगर– कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्की मंगलबारदेखि आमरण अनशन वसेका छन्। आफनो कार्यकालमा सुरु भएका जनमुखी योजनालाई प्रदेश सरकारले कटौती गरेको विरोधमा उनले अनशन सुरु गरेका हुन।

मंगलबार राती प्रहरीले उनको अनशनमा हस्तक्षेप गरेको थियो। उनी प्रदेशसभा सचिवालय अगाडि अनशन बसेका थिए। तर, उनले अनशन सुरु गर्नु अघि नै त्यस क्षेत्रलाई जिल्ला प्रशासन कार्यालयले निषेधित क्षेत्र घोषणा गर्यो।

निषेधित क्षेत्र तोडेको आरोपमा प्रहरीले उनलाई अनशनस्थलबाट झ्यानाकुल्टिङ पार्दै गाडीमा पुर्याएर उनको बुढीगंगा गाँउपालिकास्थित घर पु¥याएर छोडिदियो। तर, उनी निजी गाडी चढेर देवकोटा पुगी फेरी अनशन वसेका छन्।

उनको यो आन्दोलनका विषयमा काँग्रेस संसदीय दल कोशी प्रदेशलाई भने जानकारी छैन। संसदीय दलका प्रमुख सचेतक गोपाल तामाङले कार्कीको आन्दोलनबारे पार्टीले कुनै आधिकारिक धारणा नबनाएको बताएका छन्।

‘पूर्व मुख्यमन्त्री ज्यूले अभियानबारे धारणा दलमा राख्नु पर्ने थियो। दलले छलफल गरि अघि बढ्नेबारे निर्णय लिन्थ्यो होला। तर त्यो भएन’ तामाङले भने–‘एक ब्यक्तिले गरेका एकल निर्णय र आन्दोलनमा दलको औपचारिक निर्णय हुँदैन। हामीले बुझेको यो आन्दोलन उहाँको व्यक्तिगत हो।’

कांग्रेस यतिबेला सरकार गठनमा व्यस्त रहेको भन्दै उनले आन्दोलनमा लाग्ने कार्यक्रम नरहेको बताए। तर, कांग्रेस जिल्ला कार्यसमिति भने कार्कीको अनशनमा साथ दिएको छ। मोरंग कांग्रेसका कार्यवाहक सभापति नागेश कोइराला कार्कीको अनशनमा सँगै छन्।

मंगलबार राती प्रहरीसँगको झडपमा उनले पनि प्रहरीको लाठी खाएका थिए। जनताप्रति लक्षित जनमुखी योजनालाई प्रदेश सरकारले कटौती गरेको विरोधमा पूर्वमुख्यमन्त्री कार्कीको आन्दोलनलाई साथ दिएको उनले बताएका छन्।

प्रदेशवासीको हितमा रहेका योजनासहित आन्दोलनमा रहेका कार्कीलाई आन्दोलनस्थलबाट उठाइनु आफैमा निन्दनीय भएको कोइरालाले बताए। प्रशासनले अनावश्यक रुपमा अनशन दबाउने प्रयास गरेको बताएका कोइरालाले प्रहरी हस्तक्षेपले जनतामा थप आक्रोश पैदा गर्ने उल्लेख गरे।

यता, नेकपा एमालेले उनको आन्दोलनलाई भ्रम श्रृजना गर्न नौटंकी सुरु गरेको बताएको छ। एमाले प्रदेश सभा सदस्य तिलचन पाठकले भने बुधबार प्रदेश सभामा सम्वोधन गर्दै कार्कीको अनशनलाई नौटंकीको संज्ञा दिए। विशेष समय लिएर बोलेका उनले संसदीय मूल्य मान्यता विपरीत कार्की अनशनमा बसेको आरोप लगाए।

उनले भने– ‘बजेटका विषयमा मुख्यमन्त्री कार्यालयमा आएर समाधान खोज्न म अनुरोध गर्न चाहन्छु, अनशनको नौटंकीले प्रदेश समृद्ध हुँदैन, जनता सुखी हुँदैनन।’ कार्कीले उठाएका सबै माग बजेटमा समावेश भएको पाठकले दाबी गरे। बजेटको नामबाट जनतालाई अन्योलमा पार्ने र प्रदेशलाई अन्योलको भूमरीभित्र राख्ने काम कार्कीले गरेको उनको भनाई छ।

कार्कीले संसदको अपमान गरेको बताउँदै उनले कार्कीको गतिविधिको छानबिन गर्नुपर्ने बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट