मलेसियाको मार्टमै नेपाल प्रहरी पुगेपछि भारतीय बाटो हुँदै फेरी काठमाण्डौं आईपुगे जीबी राई

काठमाण्डौं– दर्जनौं सहकारीबाट १ अर्वभन्दा वढि वचत रकम ठगेर मलेसियामा लुकेर बसेका गितेन्द्रबाबु (जीबी) राई भारतीय मार्ग हुँदै नेपाल प्रवेश गरेको खुलेको छ। मलेसियामा सपिङ मार्ट सञ्चालन गरेर वसेका उनलाई खोज्दै प्रहरी पुगेको जानकारी पाएपछि उनी त्यहाँबाट भागेका हुन।

प्रहरीको आन्तरिक सूचना अनुसार जीबी एक पटक ललितपुरको इमाडोलस्थित बुढाथोकी थरका कानून व्यवसायीको घरमा देखिएका थिए। त्यसपछि पनि उच्च राजनीतिक संरक्षणमा काठमाण्डौं उपत्यकाभित्रै रहेको सूचना प्रहरीसँग छ। स्रोतका अनुसार अहिले उनी आफूसँग भएका कागजात मिलाउन र प्रमाण सुरक्षित गर्न लागेका छन्।

प्रतिनिधिसभाका सदस्य सूर्य थापाको संयोजकत्वमा गठित ७ सदस्यीय सहकारी अपचलन छानबिन समितिले उक्त प्रकरणमा संलग्न रही विदेशमा लुक्दै आएका व्यक्तिहरु पक्राउ गर्न आग्रह गरेको थियो। त्यो सूचीमा जीबीको पनि नाम छ। सहकारी ठगी प्रकरणमा सर्वाधिक खोजीमा रहेका ब्यक्ति पनि जीबी नै हुन।

त्यसैले गृहमन्त्री रमेश लेखकले परराष्ट्र मन्त्रालयसँग समन्वय गरी जीबीलाई पक्राउ गर्न एसपीको नेतृत्वमा प्रहरी टोली नै मलेसिया पठाएका थिए। राई मलेसियामा सपिङ मार्ट सञ्चालन गर्दै बसेको अवस्थामा नेपालबाट गएको प्रहरी टोलीले फेला पारेको थियो। ‘क्वालालम्पुरको देशापण्डनमा अपार्टमेन्ट लिएर उनी बसेका छन्, मार्ट पनि त्यसको नजिकै छ’, प्रहरी स्रोतले भनेको छ।

तर, मलेसियाको प्रहरीले सहयोग नगरेपछि उनी पक्राउ परेनन्। त्यसपछि नेपाल प्रहरीले उनको निगरानीका निम्ति एक संयन्त्र बनाएर स्वदेश फर्कियो। त्यसलगत्तै राईलाई मलेसियामा देखिन छोडेको जनाईएको छ।

नेपालमा जस्तो मलेसियामा विदेशी प्रहरी वा गुप्तचरले लोकेशन ट्रेस, कल डिटेल्सको अध्ययन गर्ने काम सम्भव नहुँदा उनको बारेमा एकिन जानकारी भने नेपाल प्रहरीसँग छ्रैन। यद्यपी उनी मलेसियामा देखिन छाडेको र ललितपुरमा देखिन थालेको जानकारीका आधारमा उनी स्थल मार्ग हुँदै नेपाल छिरिसकेको प्रहरीले जनाएको छ।

जीबी आफैं अध्यक्ष रही पोखरामा सूर्यदर्शन सहकारी, काठमाडौंमा स्वर्णलक्ष्मीसहित विभिन्न शहरमा सहकारी कारोबार गर्ने क्रममा बचनकर्ताको अर्बौं रकम हिनामिना गरेको आरोप लागेको छ। उनले सञ्चालन गरेको ग्यालेक्सी फोर के टेलिभिजनमा सहकारीबाट रकम प्रवाहित भएको लगभग पुष्टि भएको छ।

त्यस आधारमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछाने पनि उक्त प्रकरणमा मुछिएका छन्। लामिछाने टेलिभिजनको प्रबन्ध निर्देशक थिए। सहकारी ठगी प्रकरणको छानबिनका क्रममा राईमाथि सोधपुछ हुनै लाग्दा उनी भारतीय बाटो हुँदै मलेसिया भागेका थिए।

नेपालमा उनलाई यात्रा प्रतिबन्ध लगाउँदै अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन विवरणमा उनको नाम कालो सूचीमा थियो। त्यसपछि स्थलमार्ग हुँदै भागेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट