विहे गर्ने आश्वासन दिएर १६ वर्षकी किशोरीलाई १ वर्षदेखि बलात्कार गर्दै आएका सैनिक जवान विरुद्ध मुद्दा दर्ता

काठमाण्डौं– विवाह गर्ने आश्वासन दिएर सुर्खेतको बराहताल गाउँपालिकाकी एक किशोरी (१६ वर्ष ८ महिना) लाई पटक–पटक बलात्कार गरेको अभियोग लागेका एक सैनिक जवान विरुद्ध मुद्दा दर्ता भएको छ।

नेपाली सेनाको नवलपरासी (पश्चिम) स्थित गोरख दल गणमा कार्यरत सैनिक जवान २१ वर्षीय छविलाल खड्का विरुद्ध जिल्ला अदालत सुर्खेतमा शुक्रबार मुद्दा दर्ता भएको हो। पीडित किशोरीले गत २५ साउनमा स्थानीयवासी खड्का विरुद्ध प्रहरीमा जाहेरी दिएकी थिईन।

त्यसको तीन दिनपछि (२८ साउनमा) प्रहरीले खड्कालाई पक्राउ गरेको थियो। न्यायिक हिरासतमा राखेर अनुसन्धान गरेपछि प्रहरीको अनुसन्धान प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले खड्काविरुद्ध मुद्दा दायर गरेको हो।

सरकारी वकिल कार्यालय सुर्खेतका जिल्ला न्यायाधिवक्ता डम्बरप्रसाद काफ्लेले अदालतमा दायर गरेको मुद्दामा किशोरीको स्वास्थ्य र आरोपी खड्काको पोलिग्राफ परीक्षण प्रतिवेदनले खड्काले बलात्कार गरेको पुष्टि हुने जिकिर गरिएको छ। ‘बिहे गर्ने भन्दाभन्दै’ आफ्ना प्रेमीलाई दुःख दिनेगरी पीडित किशोरीले बलात्कारसम्बन्धी झुट्टा जाहेरी दिने अवस्था नरहेको पनि काफ्लेको निष्कर्ष छ।

यी दुई आधारले खड्काले किशोरीलाई बलात्कार गरेको तथ्य स्थापित हुने दाबी गर्दै उनलाई १२ देखि १४ वर्षसम्म कैद सजाय र ५ लाख जरिवानाको हुनु पर्ने मागदावी गरिएको छ।

किशोरीका अनुसार खड्काले ५ असोज ०८० मा उनलाई पहिलो पटक बलात्कार गरेका थिए। मामाको घरबाट राती साढे ९ बजे एक्लै घर फर्किदै गरेका बेला खड्काले पछाडिबाट एक्कासी समातेर लछार–पछार पार्दै खेतमा पु-याएर बलात्कार गरेको उनको भनाई छ।

बलात्कार गरिसकेपछि ‘म पछि तिमिलाई बिहे गर्छु। अहिले यस वारेमा कसैलाई नभन्नु’ भन्दै दोस्रो पटक बलात्कार गरेको उनले उल्लेख गरेकी छिन्। इज्जतको डरले किशोरीले पनि घटनाबारे कसैलाई भनिनन्। खड्काले बिहे गर्ने भन्दै घरमा लगेर पनि बलात्कार गरेको उनको उजुरीमा उल्लेख छ।

पटक–पटक यस्तो गरेपछि आजित भएर आफुले खड्का विरुद्ध प्रहरीमा उजुरी दिएको उनले वताएकी छिन्। खड्काले भने घटनाबारे प्रहरीसँग इन्कारी बयान दिएका छन्। तर, किशोरी गाउँले भएकाले चिनजान रहेको प्रेम सम्वन्धमा रहेको, फोनमा बोल्ने गरेको, भेटघाट हुने गरेको र उमेर पुगेपछि बिहे गर्ने सल्लाह भएको उनले वताएका छन्। बलात्कार गरेको विषय भने उनले स्विकार गरेका छैनन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट