खसी काण्डमा मुछिएका डीएसपीको आतंकवादीसँग सम्वन्धः सिंगापुर प्रहरीको खोजीमा हेमबहादुर

काठमाण्डौं– नेपाल प्रहरीका डीएसपी हेमबहादुर शाहीसहित तीन नेपालीलाई आतंकवादसँग जोडिएको आर्थिक कारोबारमा संलग्न रहेको आशंका गर्दै सिङ्गापुर प्रहरीले इन्टरपोलमार्फत सोधखोज गरेपछि प्रहरी संगठनमा तरंग उत्पन्न भएको छ।

जानकारी अनुसार, सिंगापुरको नेसनल सेन्ट्रल ब्यूरो (एनसीबी)ले आतंकवादसँग जोडिएको आर्थिक कारोबारको आशंकामा डीएसपी शाहीसहित कालिकोटका महेन्द्रजंग शाह र दिपेन्द्रबहादुर शाहको पृष्ठभूमीका विषयमा जानकारी मागेको छ।

सिङ्गापुर प्रहरीको पत्रमा उनीहरूका गतिविधि, कुनै आपराधिक घटनामा संलग्नता, आतंकवादमा संलग्न व्यक्ति तथा समूहका लागि आर्थिक गतिविधि गर्ने र सिङ्गापुरसँग जोडिएको बारे जानकारी पठाउन आग्रह गरिएको छ।

इन्टरपोलले सोधखोज गरेका मध्ये महेन्द्रजङ्ग शाह २० वर्षदेखि मलेसियामा बस्दै आएका छन्। उनी एनआरएन मलेसियाका पूर्वअध्यक्षसमेत हुन्। उनीमाथि अवैध क्रिप्टो कारोबार, अनलाइन ग्याम्लिङ, र ‘हाइपर फन्ड’मार्फत् आपराधिक गतिविधि सञ्चालन गरेको आरोप छ।

दीपेन्द्रबहादुर शाह माओवादी केन्द्रका स्थानीय नेता हुन्। उनी महेन्द्रका ठुलोबुबाका छोरा हुन। दीपेन्द्र गत स्थानीय तह निर्वाचनमा बाँकेको बैजनाथ गाउँपालिका अध्यक्षका उम्मेदवार थिए। डीएसपी शाही भने महेन्द्रसँगको संलग्नताले अनुसन्धानको दायरामा परेको प्रहरी स्रोतको दावी छ। यद्यपी प्रहरीले अहिले आन्तरिक रूपमा यो विषयमा थप अनुसन्धान भने गरिरहेको जनाईएको छ।

शाही अहिले सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीमा कार्यरत छन्। उनी इलाका प्रहरी कार्यालय कोहलपुरको प्रमुख हुँदा दीपेन्द्रसँग परिचय भएको थियो। पारिवारिक कुराकानीका क्रममा महेन्द्रले दीपेन्द्र र हेमराजलाई मलेसिया घुम्न निम्ता गरिरहन्थे। एक÷दुईपटक डीएसपी शाही र महेन्द्रबीच भिडियो कल पनि भएको थियो।

इन्टरपोलले उनलाई खोज्नु पर्ने कारण बारेपनि उनी स्वयमले खुलासा गरेका छन्। उनका अनुसार ३२ जेठमा कैलालीका तीन जना साथीसहित उनी १० दिन सिङ्गापुर घुम्ने भनेर हिडेका थिए। यसैक्रममा मलेसियामा महेन्द्रलाई भेट्ने सल्लाह भएको थियो। बैंकक पुगेपछि महेन्द्र र दीपेन्द्रले कर गरेपछि उडान रद्द गरेर डीएसपी शाही मलेसिया पुगे।

मलेसियामा करिव एक साता बसेपछि उनीहरूले सिङ्गापुर जाने तयारी गरे। महेन्द्र, उनकी श्रीमती, साली, दीपेन्द्र र डीएसपी शाही गाडीबाटै सिङ्गापुर बोर्डरसम्म पुगे। तर, उनीहरूलाई सिङ्गापुर अध्यागमनले प्रवेश गर्न दिएन। ‘महेन्द्रको नाम आईएसआईएससँग जोडिएको रिपोर्ट रहेछ’ उनले भने ‘त्यसैले शंकास्पद भनेर रोकियो।’ आफुलाई पनि महेन्द्रसँगको नाता सम्बन्धबारे सोधेको र आफुले ‘टाढाको नातेदार’ भनेर जवाफ दिएको उनको भनाई छ।

त्यसपछि उनी सिङ्गापुर नपुगी मलेसिया र त्यहाँबाट स्वदेश फर्किएका थिए। त्यसको एक महिनापछि डीएसपी शाहीसहित तीन नेपालीबारे इन्टरपोलमार्फत सिङ्गापुर प्रहरीले सोधीखोजी गरेको जनाईएको छ।

प्रहरीस्रोतका अनुसार, डीएसपी शाहीको आतंकवादसम्बन्धी कुनै गिरोहसँग सम्बन्ध नदेखिए पनि महेन्द्र र दिपेन्द्रको संगतले सिङ्गापुर प्रहरीको निगरानीमा परेका हुन्। यद्यपी डीएसपी शाही पनि विवादित छविका प्रहरी अधिकारी हुन्। उनले प्रहरी निरीक्षकको तालिममै आचरणविपरीत काम गरेको आरोपमा नसिहत पाएका थिए।

त्यसपछि इलाका प्रहरी कार्यालय बेलौरी प्रमुख हुँदासमेत विवादित हुँदा स्थानीयले प्रहरी कार्यालयमाथि नै ढुंगामुढा प्रहार गरेका थिए। त्यस्तै कोहलपुर प्रहरी प्रमुख हुँदा तरुण दलका एक कार्यकर्तालाई गोली हान्ने धम्की दिएपछि विवादित बनेका थिए।

जानकारी अनुसार, ०७६ कात्तिकको तेस्रो साता कोहलपुरको नमस्ते भिलेज रिसोर्टमा तरुण दलका कार्यकर्ता र प्रहरी टोलीबीच लफडा भएको थियो। डीएसपी शाहीको टोली तरूण दलका नेपालगञ्ज नगर सभापति सन्दीपजंग शाहसहित ६ जनालाई पक्राउ गरेको थियो।

सो घटनामा डीएसपी शाहीले आफैंले हतियार राखेर सन्दीपजंगसहितको टोलीलाई फसाएको आरोप लाग्यो। डीएसपी शाहीले दसैंमा तरुण दलका नेपालगञ्ज कोषाध्यक्ष केशर खड्कासँग खसी मागेको र खशी नदिएपछि सन्दीपजंग शाहीलगायत केशर खड्कासँग रुष्ट भएर फसाएको आरोप थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट