हिंसा भनेकोमा प्रचण्डले आपत्ति जनाएपछि ओलीको जवाफः महान जनयुद्ध थियो भने छोडेर किन आएको?

काठमाडौं- केही समय सत्ता सहयात्रा गरेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रकाका अध्यक्ष पुष्पकमल दाहालबीच यतिवेला त्यो वेलाको तिक्तता पोख्ने क्रम जारी छ। खास गरी माओवादीको १० वर्षे जनयुद्धलाई ओली लगायतका नेकपा एमालेका नेताले ‘हिंसा’ भनेपछि त्यो तिक्तता अहिले हरेक सार्वजनिक कार्यक्रममा सुन्न पाईन्छ। दुवै अध्यक्षले एक अर्कोलाई ब्यंग्य गर्ने तथा छुद्र बोल्ने गर्न थालेका छन्।

यसैक्रममा प्रधानमन्त्रीसमेत रहेका ओलीले पूर्व प्रमुख प्रतिपक्षी नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम पूर्वप्रधानमन्त्री दाहाललाई ‘जनयुद्ध महान नै थियो भने किन छोडेर आएको ?’ भन्दै प्रश्न गरेका छन्।

शनिबार काठमाडौंमा २१औं निजामति सेवा दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले दाहाललाई यसरी प्रश्न गरेका हुन। ‘हाम्रो देशमा हिंसा थियो, त्यसलाई व्यवस्थापन गर्नुप-यो। केही मानिसहरुले त्यसलाई महिमा मण्डन गरेको सुन्छु। त्यस्तो महान थियो भने किन छोडेको त त्यो बाटो? किन आउनुप-यो शान्ति प्रक्रियामा ?’ ओलीले भने–‘त्यस्तो महान जनयुद्धै थियो भने त सफल पार्नुपर्दथ्यो। जनयुद्ध भन्ने चिज जनयुद्ध हो भने त्यो फेल हुँदैन। जन आन्दोलन हो भनेपनि त्यो फेल हुँदैन। जन भइसकेपछि त्यो फेल हुँदैन।’

ओलीले हिंसाको महिमा मण्डन गर्न छोडेर देश विकासमा लाग्न समेत दाहाललाई आग्रह गरे। ‘अब जनताका नाममा एक मुठी मान्छेले आफ्नो रहर, निर्देशित, प्रायोजित वा अरु प्रकारका रहरहरु लाद्न खोज्यो भने देशले त्यसलाई अस्वीकार गर्छ,’ उनले भने– ‘बाटो बदल्नुपर्छ। मैले पनि झापा आन्दोलनताका जुन नीतिहरु लिएको थिएँ, त्यो सही नीति भएनछ अगाडि बढ्ने, बदलियो। सही भएन त बदल्नुपर्छ। त्यस्तै अरुले चलाएका अनावश्यक हिंसा आदि पनि छोड्नुपर्छ। बदल्नुपर्छ। हिंसाको महिमा मण्डन गरेर हामी अघि बढ्न सक्दैनौँ।’

माओवादी केन्द्रका अध्यक्ष दाहालले बिहीबारको एक कार्यक्रममा ओलीलाई लक्षित गर्दै सरकारमा बसेका मान्छेहरुले नै ‘जनयुद्धलाई हिंसा भन्ने दुस्साहस गरेको’ भन्दै त्यसको भण्डाफोरमा लाग्न कार्यकर्ताहरुलाई निर्देशन दिएका थिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट