२ लाख क्षतीपूर्ति पाउने भएपछि सुत्केरी महिलाको मृत्यु प्रकरणमा सहमति

जनकपुर– रौतहटको गरुडा नगरपालिका–५ शिवनगरमा सुत्केरी महिलाको मृत्यु भएको घटनामा अस्पताल र पीडित पक्षबीच सहमति भएको छ। दोषीलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिने सहमतिपछि शव पोस्टमार्टमका लागि पठाइएको छ।

दुवै पक्षबीच गएराती इलाका प्रहरी कार्यालय गरुडामा छलफल भएको थियो। जसमा पीडित परिवारलाई राहत स्वरूप तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने, घटनाको छानबिन गर्न सर्वदलीय समिति गठन गर्ने र अस्पतालमा तोडफोड गर्नेलाई कारबाही गर्ने सहमति भएको छ।

सहमतिपछि राती ११ बजे मृतक सुत्केरी महिलाको शव पोस्टमार्टमका लागि प्रादेशिक अस्पताल गौर पठाइएको थियो भने अवरुद्ध रहेको शिवनगर स्थित बाटो पनि खुलाईएको थियो।

छलफलमा गरुडाका मेयर कन्थमणि जैसवाल, मेयर प्रत्याशीहरु सुनिल कुमार यादव, ब्रिज किशोर यादव, अनिल कुमार यादव, जिल्ला प्रहरी प्रमुख एसपी दिलीप घिमिरे, सशस्त्र प्रहरी प्रमुख एसपी बिक्रम हुमागाईं, सहायक सिडिओ नरेश कुमार यादव, वडा अध्यक्ष रामबाबु चौधरी लगायत पीडित परिवारका प्रतिनिधिको सहभागिता रहेको थियो।

बैठकमा मेयर जैसवालले नगरपालिकाबाट तत्काल दुई लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए।

गरुडा ५ शिवनगर बस्ने अरबिन्द साहकी श्रीमती २५ वर्षीया रमिता देवीलाई सुत्केरी व्यथा लागेपछि विहिबार साँझ स्वास्थ्य चौकीमा रहेको बर्थिङ सेन्टरमा भर्ना गरिएको थियो। उनको नर्मल डेलीभरी भएको थियो।

सुत्केरी भएपछि अत्याधिक रक्तस्राव भएको भन्दै शुक्रबार विहान थप उपचारका लागि इन्डो–नेपाल अस्पतालमा विरगन्ज पठाईएको थियो। उनको बिहान ९ बजे मृत्यु भयो। त्यसपछि शव बोकेरै स्वास्थ्य चौकी पुगेका आफन्त र स्थानीयले दिनभर प्रदर्शन गरे। चिकित्सकको लापरबाहीले अत्यधिक रक्तस्राव भएर महिलाको मृत्यु भएको पीडित परिवार र आफन्तले आरोप थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट