कटारीमा आमा–छोराको विभत्स हत्याः गहना पैसा जस्ताको तस्तै, मृतकको मोवाईल वेपत्ता

राजविराज– उदयपुरको कटारी नगरपालिका–१० सोरुङ्गछविसेकी निर्मला थापा र उनका नाबालक छोराको हत्या भएको ३६ घण्टा वितेको छ। तर, ‘प्रहरीले अनुशन्धान सुरु गर्यो’ भन्ने बाहेक अर्को उपलब्धी हात लागेको छैन।

वडा कार्यालय नजिकै किराना तथा खाजा पसल गरेर वसेकी ४० वर्षिया निर्मला र उनका छोरा ६ वर्षिय आरुसको बुधबार राती विभत्स हत्या भएको थियो। दुवैको शव विहिबार विहान क्षतविक्षत अवस्थामा फेला परेको थियो।

पसलमा आएका ग्राहकले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। स्थानीयका अनुसार निर्मलाको कम्मर माथिको भाग हतियार प्रहारबाट क्षतविक्षत भएको छ। उनको शव भुँईमा घोप्टो परेको अवस्थामा फेला परेको थियो। यसैगरी आरुसको शव रगतले लतपतिएको अवस्थामा खाटमा फेला परेको थियो। उनको घाँटी काँटेर हत्या गरिएको छ।

ईलाका प्रहरी कार्यालय कटारीका इन्स्पेक्टर उमेश महतोका अनुसार घट्ना अनुशन्धानका लागि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर, जिल्ला प्रहरी कार्यालय गाईघाट र इलाका प्रहरी कार्यालय कटारीको टोली खटिएको छ।

तर, हालसम्म प्रहरीले हत्याको ‘क्लु’ समेत फेला पारेको छैन। हत्या कस्ले र किन गर्यो भन्ने अनुमान समेत लगाउन नसकिएको प्रहरीको भनाई छ। घटनास्थलमा कुनै पनि हतियार र सवुत फेला परेको छैन। निर्मलाले लगाएका सुनका गहना र कम्मरमा रहेको पैसा जस्ताको तस्तै छ। प्रहरीले दिएको जानकारी अनुसार निर्मलाले प्रयोग गर्ने मोबाईल भने फेला परेको छैन। यसवाहेक घट्नास्थलबाट कुनै पनि सामग्री लगेको सुराक भेटिएको छैन।

मृतक आमाछोराको शव शुक्रबार दिउँसो कटारी अस्पतालमा पोष्टमार्टम गरी स्थानीय तावा खोलामा दाहसंस्कार गरिएको छ। निर्मलाका पति अशोक २ वर्षअघि नै कान्छी श्रीमती लिएर भारत पसेका छन्। त्यसपछि उनी नाबालक छोरो साथमा राखेर पसल सञ्चालन गरेर बसेकी थिईन।

परिवारका तर्फबाट प्रहरीमा किटानी जाहेरी परेको छैन। मृतकका सासुससुरा अशक्त छन्। घट्नाको जानकारी पाएपछि सप्तरीको राजविराजमा शिक्षण पेशामा रहेका मृतकका काका ससुरा इन्द्र थापा बिहिबार वेलुका घर पुगेका छन्।

उनले नै अनुसन्धान र दोषीलाई कार्वाहीको माग गर्दै प्रहरीमा उजुरी दिएका छन्। सोही उजुरीका आधारमा प्रहरीले घटनाको अनुसन्धान गरिरहेको इप्रका कटारीका इन्स्पेक्टर महतोले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट