रामकुमारी झाँक्रीसहितका ३ दर्जन वढि नेता एमालेमा फर्किदै, नेतृत्व पंक्ति माओवादीसँग वार्तामा

काठमाण्डौं– माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीका केही नेताहरु नेकपा एमालेमै फर्किने तयारीमा लागेका छन्। त्यसका लागि समाजवादीकी पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीसहितका कतिपय नेताले एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल समेत गरिसकेका छन्।

नेतृ झाँक्री १७ भदौमा सांसद किसान श्रेष्ठलाई साथ लिएर ओलीलाई भेट्न बालुवाटार पुगेकी थिईन। ओलीले उनलाई प्रष्ट भाषामा पार्टीमा आए स्वागत गर्ने बताएका छन्। समाजवादीबाट ५ जना सांसदसहितका केही नेता एमालेमा फर्किने तयारी छ।

केही कानुनी पाटो मिलाउनु पर्ने भएकाले त्यसका लागि केही ढिलाई भईरहेको स्रोतले जनाएको छ। राजनीतिक दलसम्बन्धी ऐनले एकपटक विभाजन भएको पार्टी ५ वर्षसम्म फुट्न नमिल्ने ब्यवस्था गरेको छ। यो ब्यवस्था अनुसार ९ भदौ ०७८ मा एमालेबाट फुटेको एकीकृत समाजवादी भदौ ०८३ सम्म फुटाउन मिल्दैन।

एमालेमा फर्किदा सांसदहरुलाई दलको ह्विप लाग्नसक्छ। सांसदहरू एमालेमा जाँदा दलले कारबाही गरे स्वतः पद जान्छ। त्यही भएर सांसदहरू पनि एमालेमा मिसिने सम्भावना न्यून बनेको छ। तर, निर्वाचन आयोग र सभामुखले यसबारे सहजीकरण गरिदिनसक्ने आश्वासन उनीहरूले पाएका छन्।

कतिपय सांसदसहित करिव ४० भन्दाबढि नेताले एमालेमा फर्किनका लागि धेरै पटक भेला भएर छलफल गरिसकेको वताईएको छ। करिब ६०/६५ जना नेताहरु एमाले फर्किन सक्ने स्रोतको भनाई छ।

किन आयो यस्तो अवस्था
नेकपा एमाले विभाजनपछि नेतृ झाँक्री एमाले अध्यक्ष ओलीप्रति सवैभन्दा रुखो र आक्रामक थिईन। एकीकृत समाजवादी गठनमा झाँक्रीको महत्वपूर्ण भूमिका छ। त्यसयता उनी ओलीको कटु आलोचकका रूपमा देखिन्थिन्।

तर, हालसालको अवस्था हेर्ने हो भने उनी ओली प्रति नरम मात्र होईन, उनको समर्थक नै भएकी छिन्। काठमाण्डौंका मेयर बालेन्द्र साह र प्रधानमन्त्री ओलीका कार्यकर्ताबीच सामाजिक सञ्जालमा भईरहेको दन्दवजानमा झाँक्रीले ओलीको समर्थन गरिन। १९ भदौमा उनले यस विषयमा सामाजिक सञ्जाल एक्समा स्ट्याटस नै लेखिन।

बालेन्द्रका समर्थकले ओलीको फेसबुकमा ‘अनफलो’ अभियान चलाइरहेका बेला झाँक्रीले लेखिन्, ‘एमालेका संगठित सदस्यले चाहे ओलीको फलोअर्स अहिलेको भन्दा दोब्बर हुन्छ।’ यसरी, झाँक्री एकाएक ओलीको समर्थनमा उत्रिँदा एकीकृत समाजवादीकै नेताहरू छक्क परे। झाँक्रीमा आएको यस्तो बदलावबारे अनेकन् अनुमान गरिए।

खासगरी, भदौ दोस्रो साता एकीकृत समाजवादीमा पदाधिकारी छान्न भएको चुनावमा महिला उपाध्यक्षका लागि उम्मेदवारी दिएकी झाँक्री जयन्तीदेवी राईसँग फराकिलो मतान्तरले पराजित भइन्। पोलिटब्युरो सदस्यमा भने निर्वाचित भएकी छिन्।

तर, उपाध्यक्षमा हारेको चोट उनको मनमा लागेको छ। पदाधिकारी छान्न निर्वाचन गर्दा चिर्कटो वितरण गरेर हराइएकोमा झाँक्री लगायतका केही नेता असन्तुष्ट छन्। बाग्लुङका केही नेता त एमालेमा फर्कि नै सकेका छन्। अन्य जिल्लामा पनि नेताहरू असन्तुष्ट भइरहेका छन्।

ठिक यसैबेला झाँक्री एवम् एकीकृत समाजवादीको खुल्ला उपाध्यक्ष उठेर पराजित भएका केशवलाल श्रेष्ठलगायतका कतिपय नेताले पार्टीभित्र भईरहेको खैलावैलाको संकेत गरेका छन्। ‘निर्वाचन परिणाम आएपछि साथीहरू विद्रोह गर्ने, संयुक्त राजीनामा दिने मात्र होइन, पार्टी नै फुटको डिलमा पुगेको सार्वजनिक भएको छ,’ श्रेष्ठले भने, ‘नेतृत्वको तहबाट चिर्कटो बाँडेर लक्ष्मण रेखा कोरियो, त्यसमा केही साथीहरू छुट्नुभयो। फुट्न चाहनेलाई कुनै ऐन कानुनले रोक्छ त?’

१८ पदाधिकारी र १०१ पोलिटब्युरोमा चुनाव गर्दा नेतृत्वले सन्तुलित र विवेकपूर्ण व्यवहार नदेखाएको उनले बताए। कम्युनिस्ट पार्टीको इतिहासमै पोलिटब्युरो चयनमा चुनाव भएको थाहा नपाएको उनी बताउँछन्। ‘एकीकृत समाजवादीको नेतृत्व पंक्ति माओवादीसँग एकता गरेर जाने तयारीमा वार्तादल समेत बनाएर खुट्टा उचालेर बसेको सूचना बाहिर आयो,’ श्रेष्ठले थपे, ‘माओवादीसँग स्कुलिङ नै नमिल्ने भएकोले त्यहाँ जानुभन्दा पुरानै घर (एमाले) मै फर्कने अर्काेथरी साथीहरूको लहर सुरु भइसक्यो।’


प्रतिक्रिया

One thought on “रामकुमारी झाँक्रीसहितका ३ दर्जन वढि नेता एमालेमा फर्किदै, नेतृत्व पंक्ति माओवादीसँग वार्तामा

  1. बुद्धि भ्रस्ट भयो भने मात्र जानू एमालेमा एमाले डुङ्गडुङ्ती गन्हाएको पार्टी हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट