चुरोटको तस्करी गर्ने सिमेन्ट उद्योगले मजदुरमाथि थाल्यो कारवाही, सोध्यो ३ दिने स्पष्टिकरण

लहान — राजश्व अनुशन्धान कार्यालयले छानविन सुरु गरेपछि सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगले आफनै मजदुरलाई कारवाही थालेको छ। विदेशी ब्राण्डका चुरोट तस्करी गरेको फेला परेपछि राजश्वले उद्योगमाथि छानविन गरिरहेको छ।

चुरोटका बारेमा सूचना चुहाएको आरोपमा उद्योगले ३ जना मजदुरलाई स्पष्टीकरण सोधेको छ। स्पष्टीकरणमा उनीहरुमाथि सुरक्षा प्रमुखलाई कुटपिट गरेको आरोप लगाइएको छ। मजदुरहरुले भने आफूहरुले चुरोटको विषय बारे बाहिर जानकारी गराएका कारण कारबाही गर्न लागिएको गुनासो गरेका छन्।

जानकारी अनुसार गत शनिबार उद्योगमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको थियो। जसमा स्थानीय जनप्रतिनिधि र श्रमिक संगठनका नेताहरुलाई पनि बोलाईएको थियो। कार्यक्रम समापनपछि मजदुरहरुले चुरोटको विषय उठाए।

उद्योगमा मार्लबोरो र मार्लबोरो गोल्ड गरी दुई प्रकारका चुरोट फेला परेका थिए। चुरोटमा आन्तरिक राजस्व विभागको स्टिकर टाँस गरिएको भए पनि वास्तविक मूल्यभन्दा बढी रकम उल्लेख गरिएको थियो। मार्लबोरो चुरोटको बट्टामा वास्तविक मूल्य नेपाली २ सय ३० रुपैयाँ उल्लेख गरिएको भए पनि २ सय ८० रुपैयाँ लेखिएको कालो स्टिकर टाँस गरिएको थियो।

यस्तै, मार्लबोरो गोल्ड चुरोटको बट्टामा वास्तविक मूल्य नेपाली २ सय ८० लेखिएकोमा ३ सय ५० रुपैयाँ लेखिएको कालो स्टिकर टाँस गरिएको थियो। यसले उपभोक्तालाई ठग्ने र राजस्व छली गर्ने कार्य भएको विषयमा छलफल भयो।

इन्डोनेसियास्थित पीटी फिलीप मोरिस कम्पनीमा उत्पादित भइ शंकर ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको जगदम्बा ओभरसिजद्वारा नेपालमा आयात गरी यो चुरोटका विक्रिवितरण गरिन्छ। सौर्य सिमेन्ट उद्योग पनि शंकर ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतकै हो।

यसरी चुरोटका बारेमा जानकारी आदान–प्रदान भईरहेका बेला १ जना मजदुरले चुरोटको कार्टुन नै ल्याएर देखाए। काटुर्न ल्याउने क्रममा विवाद सुरु भयो। कार्टुन बोकेको देखेपछि सुरक्षा गार्डले मजदुरलाई रोके। त्यसैले विवाद उत्कर्षमा पुग्यो।

यसरी चुरोटको तस्करी भएको सूचाना वाहिर गएपछि त्यसैदिन अढाई ट्रक चुरोट उद्योगभित्रै जलाईएको थियो। लगत्तै (सोमबार) यसबारे बाहिर सूचना दिने तीन जना मजदुरलाई तीन दिने स्पष्टीकरण सोधिएको छ।

यता, चुरोटको गैरकानुनी भण्डारण र आयात÷निर्यातको विषय सार्वजनिक भएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले पत्र पठाएर उद्योगसँग औपचारिक जवाफ मागेको थियो। पत्रमा सिमेन्ट उद्योगमा चुरोट कसरी र कहिले आयो, किन आयो आदि प्रश्नहरूको जवाफ मागेको छ।

सिमेन्ट उद्योगबाट चुरोटको तस्करी हुने गरेको बारेमा प्रहरीले जानकारी दिएपछि खानतलासी समेत गरिएको थियो। खानतलासीपछि तीन कार्टुनमा चुरोट लिएर राजस्वको टोली फर्किएको थियो।

यो पनि,

सिरहाको सौर्य सिमेन्ट उद्योगबाट विदेशी व्राण्डको चुरोट तस्करी, पोल खुलेपछि भण्डारमै जलाईयो अढाई ट्रक चुरोट


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट