जीवी राई खोज्दै मलेसिया पुगेका एसपीले के लिएर फर्किए ?

काठमाण्डौं– दर्जनौं सहकारीबाट १ अर्वभन्दा वढि वचत रकम ठगेर मलेसियामा लुकेर बसेका गितेन्द्रबाबु (जीबी) राईलाई खोज्न गएको नेपाल प्रहरीको टोली बुधबार रित्तो हात फर्किएको छ।

मलेसियाको राजधानी क्वालालम्पुरस्थित देशापण्डनमा ७ करोड (नेपाली रुपैयाँ) भन्दा बढीको अपार्टमेन्ट खरिद गरेर बसेको जानकारी पाएपछि उनलाई खोज्न एसपी नेतृत्वको २ सदस्सीय प्रहरी टोली एक साताअघि त्यता गएको थियो। टोलीमा एक जना सई थिए।

टोलीले राईलाई भेटे/नभेटेको खुलेको छैन। उनी स्थलमार्गबाट भारत हुँदै मलेसिया पुगेका हुन। पुस ०७९ मा मलेसिया जान भन्दै जीबी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसमेत पुगेका थिए। तर, पासपोर्ट रोक्का रहेको जानकारी पाएपछि उनी फिर्ता भएका थिए। जीबीविरुद्ध सहकारी विभागमा उजुरी परेपछि विदेश भाग्न सक्ने भन्दै डेढ वर्षअघि नै उनको पासपोर्ट रोक्का गरिएको थियो।

त्यसपछि उनी स्थल मार्ग हुँदै मलेसिया पुगेको प्रहरी स्रोत बताउँछ। जीबी मलेसियामा रहेको थाहा पाएपछि प्रहरी प्रधान कार्यालयको आग्रहमा गृहमन्त्री रमेश लेखकले परराष्ट्र मन्त्रालयमार्फत समन्वय गरेर प्रहरीले टोली पठाएका थिए। यसअघि गृह र परराष्ट्र मन्त्रालयको समन्वयमा ०८० फागुन दोस्रो साता कूटनीतिक पत्राचार गर्दै जीबीलाई नेपाल पठाई दिन आग्रह गरिएको थियो।

त्यसपछि पनि उनलाई ल्याउन सरकारी पहल जारी छ। तर, पटक–पटक प्रयास गर्दा पनि मलेसिया सरकारले जीबीलाई नेपाल फिर्ता गर्न मानेको छैन। कूटनीतिक पहल गरी नेपाल ल्याउने प्रहरीको प्रयास असफल भएपछि पछिल्लो कदम चालिएको हो।

यता, एक साताअघि नेपाल प्रहरीले प्रहरीको अन्तर्राष्ट्रिय संगठन इन्टरपोललाई जीबी राईसँग सम्बन्धित थप कागजात पठाएको छ। जीबीलाई रेड नोटिस जारी गर्न यसअघि अदालती कागजातहरु, पक्राउ पूर्जी, अभियोजको पत्रलगायत कागजातहरु पठाइएको थियो। इन्टरपोलले जीबीबाट पीडितहरुको बयान कागज र साक्षीको बयान कागज माग गरेपछि ती कागजात अनुवाद गरेर पठाइएको प्रहरी प्रधान कार्यालय स्रोतले जनाएको छ।

प्रहरी स्रोतका अनुसार जीबी मलेसिया सरकारको ‘मेक मलेसिया माइ सेकेन्ड होम’ अवधारणा अनुसार त्यहाँ वसिरहेको खुलेको छ। त्यो अवधारणा अन्तर्गत तोकिएको रकम सरकारलाई तिरेपछि मलेसियाली नागरिक सरह बस्न मिल्छ।

मलेसियामै रहेको पत्ता लाग्दा पनि जीबी सुरक्षित रहेको यसअघि प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवर आफैंले बताएका थिए। ‘जीबीविरुद्ध रेड नोटिस जारी भइसक्यो, तर मलेसियासँग सुपुर्दगी सन्धि नहुँदा समस्या भएको छ’, १५ चैत २०८० मा संसद्को राज्यव्यवस्था समिति बैठकमा कुँवरले भनेका थिए।

जीबी समूहले पोखराको सूर्यदर्शनबाट मात्र डेढ अर्ब रुपैयाँ ठगी गरेको प्रहरी अनुसन्धानले देखाएको छ। प्रहरीले २०७६ सालपछिको विवरण हेर्दा सूर्यदर्शनमा १ अर्ब ३५ करोड ५३ लाख ५४ हजार ८९९ रुपैयाँ ठगिएको भन्दै १९ जनाविरुद्ध मुद्दा चलाइएको थियो। तर १६ माघमा पूर्वडीआईजी छविलाल जोशीको शंखमुलस्थित घरमा छापा मारेर चार वटा सर्भर बरामद गरेपछि २०७२ सालदेखिको विवरण भेटिएको थियो।

त्यसपछि उक्त सहकारीबाट थप १ अर्ब ५० करोड ९० लाख ३० हजार ५०३ रुपैयाँ अपचलन भएको देखिएको थियो। यो मुद्दामा पहिले जीबी राईसहित १९ जनाविरुद्ध मुद्दा चलाइएकामा पछि २५ जनाविरुद्ध पक्राउ पुर्जी जारी भएको छ। हाल ६ जना पुर्पक्षका लागि थुनामा छन् भने अरु पक्राउ पर्न सकेका छैनन्।

को हुन जीबी राई ?
जीबीको स्थायी ठेगाना ओखलढुंगाको सुनकोसी गाउँपालिका–४, डाँडाटोल हो। जीबीका हजुरबुबा पञ्चध्वज राई प्रधानपञ्च थिए भने बुबा दीपहरी पनि २०७४ सालमा एमालेबाट सुनकोसी– ४ का वडाध्यक्ष भएका थिए। राजनीतिक परिवारमा हुर्किएका उनको व्यावसायिक सुरुवात जडीबुटी उत्पादन र बिक्री गर्ने हर्बो नेटवर्किङ कम्पनीबाट भएको थियो।

दाइ अनन्त राई र साथीहरूसँग मिलेर चलाएको यो कम्पनीमा जीबी मार्केटिङको काम हेर्थे। ०६६ सम्म हर्बोमा काम गरेपछि त्यसमा पनि गैरकानुनी नेटवर्किङ व्यवसाय चलाउने युनिटीविरुद्ध कानुनी कारबाही भयो। हर्बोविरुद्ध पनि मुद्दा प¥यो।

हर्बोको शेयर हत्याउन सफल बनेका जीबीले त्यो कम्पनी नचलाई त्यस्तै अर्को कम्पनी (नेचर हर्ब्स इन्टरनेसनल) खोले। यद्यपि, यसको उद्देश्य पनि नेटवर्किङ व्यवसाय नै थियो। त्यसपछि जीबी ज्ञानबहादुर बम्जनले पोखरामा सुरु गरेको सूर्यदर्शन सहकारीमा जोडिए। यहीँबाट उनले लाखौँ रकम एकाएक खेलाउने अवस्थामा पुगे।

सहकारी ऐन अनुसार एउटा जिल्लाको मान्छे अर्को जिल्लामा गएर सहकारी खोल्न पाउँदैन। तर, उनी सूर्यदर्शन सहकारीको अध्यक्ष नै भए। र, त्यसपछि आर्थिक हिनामिनाको शृंखला सुरु भएको देखिन्छ।

त्यसपछि जीबी काठमाडौंको कालीमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा छिरेर ०७१ सालतिर नेतृत्वमै पुगे। २ वर्ष नबित्दै बुटवल गएर तत्कालीन उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दिपेश पुनसँग मिलेर सुप्रिम सहकारी सञ्चालन गरे। ०७८ मा यसको पनि अध्यक्ष जीबी भए। त्यही वेला उनी चितवनको सहारा सहकारीमा पनि सञ्चालक थिए।

यिनै सहकारीको पैसा लगेर ग्यालेक्सी टेलिभिजनमा लगानी गरे। रवि लामिछानेलाई साथ लिए। तर, टेलिभिजन डुब्यो। जीबी संलग्न भएको नेचर हर्ब्स, गोरखा ग्रुप अफ कम्पनी, नेचर नेस्ट कम्पनी, जीबी ग्रुप एन्ड कम्पनीलगायतमा पनि सहकारी संस्थाहरूको ठूलो रकम कानुनविपरीत गएको देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट