५ दिनपछि साउदी जाने तयारीमा रहेका युवाको उपचारका क्रममा मृत्यु, अस्पतालमा तनाव (फोटो फिचर)

राजविराज — ५ दिनपछि विदेश उड्ने तयारीमा रहेका एक युवकको उपचारका क्रममा मृत्यु भएपछि विहिबार सप्तरीको राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल तनावग्रत छ।

विष्णुपुर गाउँपालिका–४, कनकट्टाका २० वर्षीय मो मनिरको उपचारका क्रममा दिउँसो करिव साढे ३ बजे मृत्यु भएको थियो। उनको मृत्युपछि परिवारका सदस्य, आफन्त र छिमेकी भेला भएर प्रदर्शन गर्दा अस्पताल तनावग्रस्त बनेको हो।

आमा हसिना वेगमका अनुसार मनिर आउँदो मंगलबार साउदी अरब जाने तयारीमा थिए। यसैक्रममा ७ दिनअघि उनलाई ज्वरो आयो। उनले राजविराज स्थित डा. मुरलीप्रसाद सिंहको क्लिनिकमा चेकजाँच गराएर औषधी खाँदै थिए। तर, विशेक हुनु भन्दा समस्या झन वढ्दै गएपछि आज उनी पुनः डा. सिंहको क्लिनिकमा पुगेका थिए।

क्लिनिकले उनलाई अवस्था गम्भिर वनेको भन्दै गजेन्द्र नारायण सिंह अस्पताल पठाएको थियो। स्वास्थ्यकर्मीहरुका अनुसार अस्पतालको आकस्मिक कक्षमा पुग्दा उनी कामिरहेका थिए भने जिउमा अत्याधिक परिना आएको थियो। वेडमा पुग्न नपाउँदै उनी लडेका थिए।

स्वास्थ्यकर्मीले उनलाई उठाएर बेडमा राखे। तर, सामान्य चेकजाँच गर्न नपाउँदै उनको मृत्यु भयो। अस्पतालका एक डाक्टरले दिएको जानकारी अनुसार विरामीको अवस्था जटिल थियो। ‘उपचार गर्नै पाईएन। प्रारम्भिक चेकजाँचमा उनको छातिमा इन्फेक्सन भएर हर्ट एट्याक भएको हुन सक्छ’ उनले भने–‘तर, हामीले राम्रो चाँच गर्न पनि पाएनौं, एकिन जानकारी त पोर्टमार्टमपछि मात्रै थाहा होला।’

मनिरको मृत्यु भएको केही समयपछि नै करिव डेढ सयको संख्यामा जम्मा भएका परिवारका सदस्य, आफन्त र छिमेकीले प्रदर्शन सुरु गरे। डाक्टरको लापरबाहीले विरामीको मृत्यु भएको भन्दै अस्पताल परिसरमै नाराबाजी र प्रदर्शन गरेपछि अस्पताल तनावग्रस्त बन्यो। स्वास्थ्यकर्मीको भागाभाग भयो।

त्यसपछि ठूलो संख्यामा प्रहरी परिचालन गरेर अवस्थालाई सामान्य नियन्त्रणमा लिईएको छ। स्वास्थ्यकर्मीहरुले काम सुरु गरेका छन्। तर, आफन्तले शव नवुझेपछि मृतकको शव आकश्मिक कक्षको ५ नम्वर बेडमै छ। यद्यपी, सुरक्षाकर्मीको घेराभित्र अन्य विरामीको उपचार भईरहेको अस्पतालले जनाएको छ।

शव जिम्मा लिन अस्विकार गर्दै प्रदर्शन गरिरहेका मृतकका आफन्तलाई अस्पतालले शुक्रबार विहान ९ बजेका लागि छलफलमा बोलाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट