सिरहाको सौर्य सिमेन्ट उद्योगबाट विदेशी व्राण्डको चुरोट तस्करी, पोल खुलेपछि भण्डारमै जलाईयो अढाई ट्रक चुरोट

लहान– सिरहाको मिर्चैयास्थित सौर्य सिमेन्ट उद्योगबाट विदेशी ब्रान्डको ‘मार्लबोरो चुरोट’ को तस्करी हुने गरेको खुलासा भएको छ। घट्नाको पोल खुलेपछि सवुत मेटाउन भण्डारण गरिएको स्थानमै अढाई ट्रक चुरोट जलाइएको पाईएको छ।

चुरोटको गैरकानुनी भण्डारण र आयात÷निर्यातको विषय सार्वजनिक भएपछि राजस्व अनुसन्धान कार्यालय इटहरीले पत्र पठाएर उद्योगसँग औपचारिक जवाफ मागेको छ। जानकारी अनुसार उद्योगलाई जवाफका लागि मंगलबार साँझसम्मको समय दिईएको थियो।

राजस्व कार्यालयले सिमेन्ट उद्योगमा चुरोट कसरी र कहिले आयो, किन आयो आदि प्रश्नहरूको जवाफ मागेको छ। सिमेन्ट उद्योगबाट चुरोटको तस्करी हुने गरेको बारेमा प्रहरीले जानकारी दिएपछि उद्योगमा खानतलासी समेत गरिएको थियो। कार्यालय प्रमुख खेमराज ओझाले त्यसको पुष्टि गरे।

खानतलासीका क्रममा उद्योगमा चुरोट फेला नपरेको उनले वताए। चुरोट जलाइएको अवस्थामा मात्रै भेटिएको उनको भनाई छ। खानतलासीका क्रममा शनिबार साँझ होहल्ला पनि भएको थियो। त्यसपछि तीन वटा कार्टुनमा ल्याइएको चुरोट लिएर राजस्वको टोली फर्किएको थियो।

उद्योगमा मार्लबोरो र मार्लबोरो गोल्ड गरी दुई प्रकारका चुरोट फेला परेका थिए। चुरोटमा आन्तरिक राजस्व विभागको स्टिकर टाँस गरिएको भए पनि वास्तविक मूल्यभन्दा बढी रकम उल्लेख गरिएको थियो।

मार्लबोरो चुरोटको बट्टामा वास्तविक मूल्य नेपाली २ सय ३० रुपैयाँ उल्लेख गरिएको भए पनि २ सय ८० रुपैयाँ लेखिएको कालो स्टिकर टाँस गरिएको छ। यस्तै, मार्लबोरो गोल्ड चुरोटको बट्टामा वास्तविक मूल्य नेपाली २ सय ८० लेखिएकोमा ३ सय ५० रुपैयाँ लेखिएको कालो स्टिकर टाँस गरिएको छ। यसले उपभोक्तालाई ठग्ने र राजस्व छली गर्ने कार्य प्रष्ट भएको छ।

यो चुरोट इन्डोनेसियास्थित पीटी फिलीप मोरिस कम्पनीमा उत्पादित भइ शंकर ग्रुप अफ इन्डस्ट्रिजअन्तर्गतको जगदम्बा ओभरसिजद्वारा नेपालमा आयात गरिन्छ। सौर्य सिमेन्ट उद्योग पनि शंकर ग्रुप अफ इन्डस्ट्रिज अन्तर्गतकै हो।

सौर्य सिमेन्ट उद्योग फागुन ०७७ देखि सञ्चालनमा आएको हो। करिब रु १५ अर्बको लगानीमा स्थापना गरिएको सिमेन्ट उद्योगमा ‘पायोनियर’ शङ्कर समूह, अम्बे समूह र गोल्छा समूहको संयुक्त लगानी थियो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट