सुन्दरहरैंचामा २ छोरीलाई विष खुवाएर मारेकी अस्मिताले गोठगाउँको होटलमा मःमः खाएको खुलासा

विराटनगर– मोरङको सुन्दरहरैंचा–७ बेलगाछीस्थित नारायण न्यौपानेको केराघारीमा शनिबार साँझ करिव साढे ४ बजे मृत अवस्थामा फेला परेका २ नाबालिकाकी आमा ५ दिनदेखि वेपत्ता छिन्। श्रीमानसँग भएको विवादका कारण शुक्रबार ८ बजे राती ‘छोरी पनि मार्छु, म पनि मर्छु’ भन्दै हिडेककी २९ वर्षीया अस्मिता कार्की (पौडेल)को अवस्था अझै अज्ञात छ।

अस्मिताले छोरीहरु ३ वर्षीया अर्पणा र १ वर्षीया आईकालाई भने विष खुवाएरै मारेको निष्कर्षमा प्रहरी पुगेको छ। अर्पणाले वहिनीलाई अँगालो हालेको अवस्थामा मृत फेला परेका थिए भने एउटा विषादीको बट्टा पनि फेला परेको थियो। उनले २ छोरीलाई मारेको भनेर श्रीमान ३१ वर्षीय अर्जुन कार्कीलाई घटनालगत्तै म्यासेज पठाएको पनि खुलेको छ। इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर तेजबहादुर दाहालले भने– ‘तेरा छोरी मारिसके भनेर म्यासेज गरेकी थिइन्। उनको मोबाइल २ बालिका मृत भेटिएकै स्थानमा भेटिएको छ।’

प्रहरी स्रोतका अनुसार मोबाइल पानीमा भिजेको अवस्थामा भेटिएको छ। यो म्यासेज अस्मिताले नै पठाएको हो÷होइन भनेर पनि अनुशन्धान भईरहेको छ। अस्मिताले पनि आत्महत्या गरेको हुन सक्ने आशंका प्रहरीले गरेको छ। तर, उनले शनिबार साँझ करिव ६ बजे गोठगाउँकै मालती होटेलमा मःम खाएको र डेढ सय रुपैयाँ तिरेको पाईएपछि सवै आश्चर्यमा छन्। आत्महत्या गर्ने सोच बनाएको मान्छे मःमः खान कसरी पुग्यो ? भन्ने अनुशन्धानको विषय भएको छ।

‘मःम खाएको भनेर होटलवालाले भनेका छन्। उनी अलिक हतास मनस्थितिमा थिइन् भन्ने कुरा आयो,’ इन्स्पेक्टर दाहालले भने, ‘फोनको सीडीआर पनि परीक्षण गर्ने काम भइरहेको छ।’ प्रहरीले पूर्वाञ्चल विश्वविद्यालयको जङ्गल, केराबारी, खोर्साने लगायतका जङ्गलमा अस्मिताको खोजी गरिसकेको छ। तर, फेला नपरेपछि उपलब्ध सीसीटीभी फुटेज अध्ययन गर्ने काम पनि भईरहेको उनले बताए।

धनकुटाको पाख्रिबास नगरपालिका–४, डिकुरे घर भएका उनीहरु सुन्दरहरैंचा नगरपालिका–७, टोलमा दिदी सीता रेग्मीको घरमा डेरा गरी बस्दै आएको थिए। सवारी चालक रहेका अर्जुनले नजिकै नयाँ घर बनाउँदै थिए।

घरमा पानी हाल्ने विषयमा श्रीमतीसँग सामान्य विवाद भएको अर्जुनले प्रहरीसमक्ष बताएका छन्। तर, त्यो भनाभन दुवै छोरीलाई मारेर आफु पनि मर्नु पर्ने अवस्थाको भने होईन। ‘मोबाइल कम चलाउन, समयमै बच्चालाई खाना खुवाउन र निर्माणाधीन अवस्थामा रहेको घरमा पानी लगाउन भनेर श्रीमानले भनेका रहेछन्,’ मोरङ प्रहरीका एसपी नवराज कार्कीले भने, ‘सामान्य विषयमा विवाद हुँदा छोरी लिएर गएको देखिन्छ।’

मृतक बालिकाको आईतबार नै अन्त्येष्टी गरिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट