मधेश प्रदेशका डीआईजी पोखरेलको खातामा कस्ले जम्मा गर्यो ९० लाख ? हेडक्वाटरले थाल्यो छानविन

काठमाण्डौं– मधेश प्रदेशमा शान्ति, सुरक्षा र सुशासनका लागि खटिएका नेपाल प्रहरीका डीआईजी (प्रहरी नायब महानिरीक्षक) यज्ञविनोद पोखरेल छानविनमा तानिएका छन्। प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरको निर्देशनमा उनीमाथि छानविन सुरु भएको हो।

पोखरेलको खातामा शंकास्पद रुपमा ९० लाख रुपैयाँ जम्मा भएपछि प्रहरी मुख्यालयको उजुरी छानबिन शाखाले अहिले छानबिन गरिरहेको छ। उनी अहिले हेडक्वाटर तानिएका छन्। डीआईजी पोखरेलमाथि भइरहेको छानबिनका क्रममा जीतेन्द्र कर्ण नाम गरेका बचौलियामार्फत लेनदेन गरेकाले उनलाई समेत सोधपुछ गरिएको मुख्यालय स्रोतले जनाएको छ।

पोखरेलमाथि तस्करी खुलाउन पैसा असुलेको आरोप छ। कर्णले पोखरेलको खातामा करिव ९ लाख ७० हजार रकम जम्मा गरेको देखिएको छ। डीआईजी पोखरेलले भने आफूले छोरालाई अध्ययनका लागि विदेश पठाउँदा पैसा सापटी मागेको रिपोर्टिङ आईजीपी कुँवरलाई गरेका छन्।

‘मैले छोरालाई वैदेशिक अध्ययनमा पठाउन पैसा सापटी मागेको हो। कर्णबाट मात्रै नभएर अरू थुप्रैसँग मागेको थिएँ। मसँग एक पैसा पनि थिएन। मैले खातामा झण्डै ९० लाख रुपैयाँ देखाउनुपर्ने थियो। सापटी माग्दै तिर्दै गरेको हो। अहिलेको जमानामा घुस वा रिस्वत पनि सिधै खातामा पठाउन कसैले भन्छ?’ उनले भनेका छन्–‘राम्रो काम गर्न हुँदोरहेनछ। मैले सबै मान्छे चिनेँ। कहाँ पैसा उठाएँ? कहाँ भ्रष्टाचार गरेँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोग छ नि, कारबाही गर्न। घुस लिएको प्रमाणित होस्, कारबाही भोग्न तयार छु। तर, कसैको मानमर्दन हुने मनसायले यसरी अनावश्यक दुःख दिन पाइँदैन।’

प्रहरी मुख्यालयले डीआईजी पोखरेलसहित बिचौलियाको भुमिका निर्वाह गरेका उनका सहयोगी ११ प्रहरी कर्मचारीलाई पनि मुख्यालयमा तानेको छ। जसमा मधेश प्रदेशमा लामो समय काम गरेका १० जना र कोशी प्रदेशका एकजना गरी ११ जना प्रहरी कर्मचारीहरु छन्। अहिले उनीहरुसँग धमाधम बयान लिने काम भईरहेको छ।

स्रोतका अनुसार धनुषाको सीमा प्रहरी चौकी दुहवीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मौवाहा प्रहरी चौकीमा कार्यरत असई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव, भोजपुरको बालंखामा कार्यरत हवल्दार वृजेस मुखिया हेडक्वाटर तानिएका छन्।

यसैगरी इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, धनुषाको जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेश प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक हवल्दार ईश्वर अछामी, धनुषाकै प्रहरी चौकी कपिलेश्वरमा कार्यरत सहायक हवल्दार मुकुन्द शर्मा र जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत जवान सतेशलाल कायस्थलाई पनि मुख्यालयमा झिकाएर बयान लिने काम भइरहेको स्रोतको दावी छ।

प्रहरी केन्द्रीय प्रवक्ता डीआईजी दानबहादुर कार्कीले गृह मन्त्रालय र प्रहरी मुख्यालयमा परेको उजुरीका आधारमा केही प्रहरीलाई झिकाएर छानबिन भइरहेको बताएका छन्। ‘तस्करसँग सम्बन्ध राख्ने, टेलिफोन गरेर पैसा माग्ने, म्यासेज पठाउने र तस्करको सूचना माग्नेजस्ता प्रहरी अनुशासन विपरीत काम गरेको पाइएपछि छानबिनका लागि झिकाएर बयान लिने काम भइरहेको छ’– उनले भने।

उच्च स्रोतका अनुसार जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारी र विचौलियाको काम गर्ने कर्णबीच समेत दैनिक १० देखि १२ पटकसम्म फोन सम्पर्क हुँदै आएको सूचना प्रहरी मुख्यालयमा छ। त्यस विषयमा पनि छानबिन भइरहेको जनाईएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट