सरकारी वकिल र प्रहरीको मिलेमतोमा यसरी छोडियो अढाई सय किलो गाँजा बोकेको स्कारपियो

जनकपुर– ३ महिनाअघि धनुषाको जनकपुरधाम उपमहानगरपालिका–१४, मुजेलियाबाट २ सय ५० किलो गाँजासहित पक्राउ गरिएको बागमती प्रदेश १–०२७ च १९७७ नम्बरको स्कारपियो प्रहरी र सरकारी वकिलको मिलेमतोमा छोडिएको खुलासा भएको छ।

गत १३ जेठ ढल्केबरबाट जनकपुरतर्फ आइरहेको स्कारपियोमा प्रहरीले गाँजा वरामद गरेको थियो। जसमा सवार ४ मध्ये ३ जना पक्राउ परेका थिए भने एक जना फरार भएका थिए। सर्लाहीको हरिवन नगरपालिका–२ का २३ वर्षीय विशाल ठोकर, उनका काकाका छोरा २० वर्षीय अर्पण ठोकर र हरिवन नगरपालिका–८ का ३० वर्षीय प्रेम श्रेष्ठ पक्राउ पर्दा सर्लाहीकै अनिल लामा भने फरार भए।

पक्राउ परेका मानिस र गाँजासहितको स्कारपियो जिल्ला प्रहरी कार्यालय धनुषाको जिम्मामा थियो। सामान्यतयाः प्रहरीले सानातिना घट्ना क्रममा प्रेस विज्ञप्ति जारी गरेर पत्रकारलाई जानकारी गराउँछ। अलि ठुलो घट्नाक्रममा पत्रकार सम्मलेन नै गर्ने गरेको छ। तर, यस प्रकरणमा प्रहरीले पत्रकारलाई कुनै जानकारी गराएन। प्रहरीको गतिविधिले सुरुदेखि नै यो घटनालाई ढाकछोप गर्न खोजेको देखिएको छ। यतिसम्मकी, पक्राउ गर्ने प्रहरी टोलीले मोबाईलमा खिचेको फोटो र भिडियो समेत जिल्ला प्रहरी कार्यालयमा बोलाएर डिलिट गर्न लगाइएको स्रोतको दावी छ।

पछि उक्त गाडी जिल्ला सरकारी वकिलको पत्रका आधारमा छोडिएको खुलेको छ। लागूऔषध ऐन २०३३ को दफा १४ को १ (घ)को ५ मा दश किलो ग्रामदेखि माथि बरामद गरिए दुई वर्षदेखि १० वर्षसम्मको कारबाही हुने व्यवस्था छ। साथै दफा १८ (क) मा बरामद गरिएको सम्पत्ती जफ्त हुने उल्लेख छ। तर, सरकारी वकिलको कार्यालयले तयार पारेको मिसिलमा गाँजा ओसार–पसारमा प्रयोग गरिएको गाडी भाडामा लगाएको र गाँजा ओसार–पोसारका बारेमा जानकारी नरहेको भन्दै गाडी मालिकले बताएपछि छोडिएको उल्लेख छ।

जिल्ला न्यायाधिवक्ता सुदीप दंगालका अनुसार गाडी मालिक सर्लाहीको हरिवन नगरपालिका–१० का रितेश श्रेष्ठको बयानका आधारमा गाडी छोडिएको हो। तर, उनकै भनाई मान्ने हो भने पनि उक्त गाडी छोड्न मिल्दैन। सवारी तथा यातायात व्यवस्था ऐन २०४९ ले गरेको ब्यवस्था अनुसार रातो नम्बर प्लेटका सवारी साधन भाडामा लगाउन पाईदैन।

ब्यक्तिगत प्रयोजनका लागि खरिद गरिएको गाडी भाडामा लगाएको विषय स्वयम गाडी मालिकले स्विकार गरिसकेपछि कारवाहीको वाटोमा जानु पर्ने थियो। तर, कानुनी प्रावधानसमेत वेवास्ता गरी गाडी छोडेको कतिपय कानुन ब्यवसायीहरु बताउँछन्।

डीआईजी र उनका १० सहयोगी प्रहरी हेडक्वाटर तानिए
यसैबीच, मधेश प्रदेश प्रहरीका प्रमुख डीआईजी (प्रहरी नायव महानिरीक्षक) यज्ञविनोद पोखरेलको खातामा अस्वाभाविक कारोबार भेटिएको पनि खुलेको छ। जुन प्रकरणमा एक बिचौलियासहित ११ प्रहरी कारबाहीमा परेका छन्।

उनीहरुलाई प्रहरी हेडक्वार्टर तानिएको छ। स्रोतका अनुसार आईजीपी (प्रहरी महानिरीक्षक) बसन्तबहादुर कुँवरको निर्देशन तथा प्रत्यक्ष निगरानीमा डीआईजी पोखरेलमाथि भएको छानबिनमा भ्रष्टाचार र अनैतिक धन्दामा उनको नेटवर्कलाई साथ दिएको आशंकामा मधेसका ९ र कोशीका एक प्रहरीलाई बयानका लागि छानबिन समितिले हेडक्वार्टरमा झिकाएको हो।

डीआईजी पोखरेलमाथि भइरहेको छानबिनका क्रममा विचौलिया जितेन्द्र कर्ण नाम गरेका ब्यक्तिमार्फत लेनदेन गरेकाले पाईएको छ। डीआईजी पोखरेलले कर्णमार्फत तस्करीको लाइन खुलाएर पैसा असुलेको प्रमाण भेटिएको छ।

यसैगरी, डीआईजी पोखरेलका सहयोगी धनुषास्थित सीमा प्रहरी चौकी दुवहीमा कार्यरत सई चन्द्रप्रसाद यादव, सप्तरीको मौवाहा प्रहरी चौकीमा कार्यरत सई उपेन्द्रप्रसाद यादव, जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत वरिष्ठ हवल्दार निरजकुमार साह, हवल्दार बच्चेलाल यादव, कोशी प्रदेशस्थित भोजपुर बालंखामा कार्यरत हवल्दार बृजेस मुखियालाई हेडक्वाटर तानिएको स्रोतको दाबी छ।

यसैगरी, इलाका प्रहरी कार्यालय निजगढमा कार्यरत हवल्दार शैलेन्द्रप्रसाद कुर्मी, जानकी प्रहरी चौकीका सहायक हवल्दार अशोककुमार यादव, मधेस प्रदेश प्रहरी कार्यालयमा कार्यरत सहायक हवल्दार इश्वर अछामी, प्रहरी चौकी कपिलेश्वर (धनुषा) मा कार्यरत सहायक हवल्दार मुकुन्द शर्मा र जिल्ला प्रहरी कार्यालय धनुषामा कार्यरत जवान सतेश लाल कायस्थ हेडक्वाटर तानिएका छन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट